भैंसेपाटी हनि ट्रयापिङमा संगठित अपराध कसुर, इन्सपेक्टर अझै फरार


 


काठमाडौं । प्रहरीकै मिलेमतोमा हनि ट्रयापिङ भएको घटनामा संगठित अपराधको कसुरमा अनुसन्धान अघि बढेको छ ।

संगठित शैलीमा व्यवसायीलाई थुनामा राखेर पैसा असुल गरिएको देखिएपछि जिल्ला प्रहरी परिसर ललितपुरले संगठित अपराधको कसुरमा अनुसन्धान गर्न अदालतबाट अनुमति लिएको छ ।

प्रहरी प्रभाग, भैंसेपाटीमा इटहरीका व्यवसायीलाई थुनामा राखी बलात्कार मुद्दामा फसाइदिने भन्दै ३० लाख लेनदेन गरी छाडिएको थियो । सो समूहले विगतमा पनि त्यसैगरी धेरैलाई फसाइसकेको खुलेको छ ।

प्रभागकी तत्कालिन प्रहरी प्रमुख प्रहरी निरीक्षक बिनुकुमारी शाही समेतको मिलेमेतामा त्यसरी असुली गरिएको थियो । निलम्बनमा रहेकी इन्सपेक्टर शाही हाल फरार छिन् ।

उनका चालक हवल्दार महेन्द्र हमाल भने पक्राउ परिसकेका छन् । हाल ललितपुर प्रहरीले चार जनालाई थुनामा राखी अनुसन्धान गरिरहेको छ ।

हनि ट्रयापिङ गिरोहका नाइके ताज इस्लामसँग मिलेर इन्सपेक्टर शाहीले व्यवसायीलाई थुनामा राखेकी थिइन् ।

डिएसपी नरहरी अधिकारी नेतृत्वको छानविन समितिको प्रतिवेदनका आधारमा इन्सपेक्टरमाथि समेत फौजदारी अभियोग अघि बढेको हो । घटनामा इन्सपेक्टरको मिलेमतोका प्रशस्त आधार भेटिएका छन् ।

दशैंअघि नै पक्राउ पूर्जी जारी भएकी इन्सपेक्टर अझै फरार छिन् । उनले आरोपी ताजको मोबाइल समेत गायब बनाएकी छिन् ।

बलात्कार मुद्दामा फसाइदिने भन्दै थुनामा राखेर मिलापत्र गराएको सूचना पाएपछि ललितपुर परिसरले सबैलाई जिल्लामा ल्याउन भनेको थियो ।

लगत्तै उनले ताजको मोबाइल र मिलापत्रमा दिइएको १० लाखको चेक आफुले लिएर गायब बनाएकी हुन् ।

प्रकाशित मिति: ४ कार्तिक २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्