सुपर ओभरमा अमेरिकालाई जित्दै सिरिजमा नेपालको कब्जा


 


काठमाडौँ, कार्तिक ४ । अमेरिकाविरुद्धको दोस्रो ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल सुपर ओभर जित्दै नेपालले सिरिज आफ्नो नाममा गरेको छ ।

तीन खेलको सिरिजमा २–० ले अगाडि रहँदै नेपालले सिरिज आफ्नो नाममा गरेको हो ।

डलासमा भएको खेलमा नेपालको जितका नायक सोमपाल कामी रहे । उनले सुपर ओभरमा दुई रन मात्र दिएर दुई विकेट लिए । अन्तिम दुई बलमा लगातार विकेट हात परेको थियो ।

यसअघि जितका लागि १ सय ७१ रन पछ्याएको अमेरिकाले आठ विकेटमा १ सय ७० रन मात्र बनाउन सक्यो । जसले गर्दा खेल सुपरओभरमा धकेलिएको थियो । अमेरिकालाई आन्द्रेस गुसले सर्वाधिक ६२ रन बनाए । उनले ४३ बलमा तीन चौका र चार छकका प्रहार गरे ।

अमेरिकालाई अन्तिम ओभरमा जित्नलाई सात रन चाहिएको थियो । अमेरिकाका लागि ओपनर साइतेजा मुखमलले ४१ बलमा ४७ रन बनाए । उनले दुई चौका र तीन छक्का प्रहार गरे ।

नेपाली बलरमध्ये करण केसीले तीन र सोमपाल कामीले दुई विकेट लिए । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले कुशल भुर्तेलको उत्कृष्ट प्रदर्शनमा ६ विकेट गुमाएर १ सय ७० रन बनाएको थियो । नेपालको इनिङ्स कुशल भुर्तेलमा टिकेको थियो र उनले नटआउट रहेर ५४ बलमा ९२ रन बनाए । त्यसमा सात चौका र छ छक्का सामेल थियो ।

नेपालका लागि ११ रनको स्थितिमै ओपनर आसिफ सेख एक रन मात्र बनाएर आउट भए । अर्का ओपनर अनिल साहले भने २५ रनको योगदान गरे । उनले दुई चौका र एक छक्का सामेल थियो । त्यसपछि गुल्सन झाले १२ बलमा १९ रन बनाए । उनले दुई चौका र एक छक्का हाने ।

कप्तान रोहित पौडेलले भने १४ बलमा १८ रनको योगदान गरे । उनले दुई चौका प्रहार गरे । दीपेन्द्रसिंहले दुई रन मात्रै बनाए । अर्का नटआउट ब्याटर करण केसीले ६ रन बनाए । अमेरिकी बलरमध्ये नोसथुस केनजिगे र जसदीप सिंहले दुई÷दुई विकेट लिए ।

नेपाल पहिलो ट्वान्टी–२० खेलमा १७ रनले विजयी रहेको थियो । अब अर्को खेल सोमबार हुनेछ ।

प्रकाशित मिति: ४ कार्तिक २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्