नेपालले अमेरिकालाई दियो १७१ रनको लक्ष्य


 


काठमाडौं, कार्तिक ४ । कुशल भुर्तेलको अर्धशतकको सहयोगमा नेपालले दोस्रो टि ट्वान्टीमा अमेरिकालाई १७१ रनको चुनौपूर्ण लक्ष्य दिएको छ ।

अमेरिकाको डालसमा रहेको ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७० रनको योगफल तयार गरेको हो ।

नेपालका लागि कुशलले ५४ बलमा नट आउट रहँदै सर्वाधिक ९२ रन बनाए । उनले ५४ बलमा ७ चौका र ६ छक्का प्रहार गरे ।

कुशलले आफ्नो नवौं टि ट्वान्टी अर्धशतक ३३ बलमा पूरा गरेका थिए । कुशलले २०२४ मार्चमा पपुवा न्युगिनीविरुद्धपछि पहिलो पटक टी–२० आईमा अर्धशतक प्रहार गरेका हुन् । कुशलले यसअघि नेदरल्यान्ड्सविरुद्ध ३ तथा मलेसिया, सिंगापुर, ओमान र युएईसँग समान १ अर्धशतक प्रहार गरेका थिए ।

ओपनर अनिलकुमार शाह ३१ बलमा २५ रन बनाउदै नोस्तुश केन्जिकेबाट कट एण्ड बोल्ड भए । शाहले २ चौका र १ छक्का प्रहार गरेका थिए । गुलशन झा १२ बलमा १९ रन बनाउदै नोस्तुश केन्जिकेको बलमा कप्तान मोनांक पटेलबाट समातिए । कप्तान रोहित पौडेल १४ बलमा १८ रन बनाउँदै अमेरिकाका कप्तान पटेलबाट समातिए । करण केसी १ बलमा ६ रन बनाउँदै नट आउट रहे ।

अमेरिकाका लागि नोस्तुश केन्जिके र जसदिप सिंहले समान २ तथा सौरभ नेत्राभाल्करले १ विकेट लिए । पहिलो टि ट्वान्टी आई ब्याटिङ र बलिङ दुवै पक्षमा सबल देखिएको नेपालले १७ रनको जित निकाल्दै सिरिजमा १–० को अग्रता बनाएको छ । तेस्रो तथा अन्तिम टि ट्वान्टी सोमबार विहान रहेको छ ।

प्रकाशित मिति: ४ कार्तिक २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्