नेत्रहीन क्रिकेट विश्वकपमा नेपालको सहभागिता


 


पुरुष तथा महिलाहरुको क्रिकेटमा आफ्नो बेग्लै पहिचान बनाउन सफल नेपालले नेत्रहीनहरुको क्रिकेटमा पनि सशक्त उपस्थिति जनाउँदै आइरहेको छ । आगामी मंसिर ७ गतेदेखि १८ गतेसम्म पाकिस्तानमा आयोजना हुने चौंथो टि ट्वान्टी नेत्रहीन विश्वकप क्रिकेट प्रतियोगिताका लागि नेपालले तयारी गरिरहेको छ । पुरुषहरुको उक्त विश्वकपमा नेपालबाट प्रतिनिधित्व गर्ने खेलाडीहरुको अन्तिम छनोट यही कात्तिक ४ गते र ५ गते काठमाडौंँमा हुनेभएको छ । छनोट भएका खेलाडीहरुलाई आगामी तिहारपछि बन्द प्रशिक्षणमा राखिने जानकारी नेत्रहीन क्रिकेट संघ नेपालका अध्यक्ष पवन घिमिरेले दिएका छन् । यसअघि गत असारमा पहिलो चरणको छनोटअन्तर्गत १९ जना खेलाडीहरु छनोट गरिएको थियो । तत्कालीन माओवादी द्वन्दका बेला २०६० सालमा आँखाको ज्योति गुमाउन पुगेका नेपाली सेनाका प्रमुख सेनानी घिमिरेकै सक्रियतामा नेपालमा २०६३ सालमा नेत्रहीनहरुको क्रिकेटको सुरुआत भएको थियो ।

उनले नेत्रहीन क्रिकेट खेलाडी, कप्तान, प्रशिक्षक, अम्पायर तथा नेत्रहीन क्रिकेट सङ्घ नेपालको अध्यक्ष समेत भूमिका निर्वाह गरेर नेत्रहीन क्रिकेटलाई स्थापित गर्न योगदान दिएका छन् । नेत्रहीन क्रिकेटका पाकिस्तानी प्रशिक्षकले काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा ३३ जना प्रशिक्षण दिएर नेपालमा नेत्रहीनको क्रिकेटको सुरुवात गरेका थिए । अहिले नेपालमा स्थानीयस्तरदेखि अन्तराष्ट्रिय तहसम्मकै प्रशिक्षकहरु कार्यरत रहेका छन् । यो खेल विभिन्न जिल्लामा विस्तार हुने क्रम जारी रहेको छ । विभिन्न जिल्लामा रहेका दृष्ट्रिविहीनहरुलाई प्रोत्साहनका लागि विभिन्न तहको प्रतियोगिता आयोजना गर्ने गरिएको छ । राष्ट्रिय खेलकुद परिषदले आयोजना गर्ने गरेको पारा तथा विशेष खेलकुदमा नेत्रहीन क्रिकेटलाई पनि प्रतियोगिताको रुपमा समावेश गर्ने गरिएको छ ।

नेत्रहीनहरुको क्रिकेटमा विश्वका विभिन्न ११ देशको सहभागिता रहेकामा नेपालको हालको स्थान छैठौं, सातौं हुनु मुलुकका लागि उपलब्धिमूलक नै मान्नु पर्दछ । यी वाहेक अन्य देशका स्कूल कलेजहरुमा पनि नेत्रहीन क्रिकेट खेल्ने गरिएको छ । तर यसको संस्थागत विकास भने हुन सकेको छैन् । नेपाली नेत्रहीन क्रिकेट टिमले सन् २००८ मा पाकिस्तानसँग मैत्रीपूर्ण खेल खेलेर आफ्नो अन्तर्राष्ट्रिय सहभागिताको सुरुवात गरेको थियो । त्यतिखेरै नेपाली टिमले पाकिस्तानमा नौ वटा मैत्रीपूर्ण खेल खेलेको थियो ।

नेपालले सन् २०१२ मा भारतको बेङ्गलोरमा भएको नेत्रहीनहरुको विश्वकपमा भाग लिएर विश्वकपमा सहभागिता प्रारम्भ गरेको थियो । त्यसबखत नेपालले पहिलोपटक बङ्गलादेशको टिमलाई पराजित गर्न सफल भएको थियो । भारतको केरलामा सन् २०१६ मा भएको एशियाली नेत्रहीन क्रिकेट प्रतियोगितामा पनि नेपालले आफ्नो सहभागिता जनाएको थियो । यसअघि सन् २०२१ मा भारतमा आयोजना भएको तेस्रो टि ट्वान्टी विश्वकपमा कोरोनाले आक्रान्त पारेको अवस्थामा पनि नेपालले भाग लिएको थियो । त्यतिखेर भारतले उपाधि जितेको थियो ।

नेपालबाटै महिला क्रिकेट सुरु

यहाँ उल्लेखनीय पक्ष के छ भने धेरै सङ्ख्यामा दृष्ट्रिविहीन महिलाहरुलाई क्रिकेटमा समाहित गर्ने मुलुकमा नेपाल अग्रपङ्तिमा पर्दछ । नेत्रहीन महिलाहरुको क्रिकेटको सुरुआत नेपालले नै गरेको थियो । वेलायतमा समेत नेपाली प्रशिक्षककै सहयोगमा नेत्रहीन महिला क्रिकेट सुरु गरिएको थियो । सन् २००९ मै नेपाली महिला टिमले काठमाडौंमा आयोजित मैत्रीपूर्ण खेलमा बेलायतलाई पराजीत गरेको थियो । त्यतिखेर नेपाल सरकारले महिला टिमलाई राष्ट्रिय सम्मान प्रदान गरेको थियो । अब सन् २०२५ मा भारतमा आयोजना हुने नेत्रहीन महिलाहरुको विश्वकपमा नेपालको पनि सहभागिता रहने लक्ष्य राखिएको छ ।

मैदानको अभाव

शारिरीक रुपले सक्षम क्रिकेट खेलाडीहरुको लागि नेपालका विभिन्न स्थानमा क्रिकेट मैदान उपलब्ध भए पनि नेत्रहीन खेलाडीहरुका लागि क्रिकेट मैदानको व्यवस्था हुन सकेको छैन । चाहे अभ्यास गर्दा होस् अथवा कुनै प्रतियोगिता आयोजना गर्नुपर्दा मैदानका लागि नेपाल क्रिकेट सङ्घलगायतलाई गुहार्नु पर्ने अवस्था आउने गरेको छ । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरस्थित क्रिकेट मैदान नेपाल क्रिकेट सङ्घले प्रयोग गरिरहेको छ । सोही सङ्घले प्रयोग गर्ने गरेको मूलपानी क्रिकेट मैदानका लागि पनि सरकारले लगानी गरेको छ । त्यस्ता मैदान नेत्रहीनहरुलाई पनि सहज रुपमा उपलब्ध गराउने व्यवस्था गर्न सम्बन्धित निकायले प्राथमिकता दिनु पर्दछ ।

राष्ट्रिय खेलकुद परिषदको स्वामित्वमा नेपालभर हजारौंं रोपनी जमिन रहेका छन् । कयौं जमिन अतिक्रमणमा परिसकेका छन् । नेत्रहीन क्रिकेट खेलाडीहरुका लागि छुट्टै क्रिकेट मैदानका लागि सरकारले बजेट विनियोजन गर्नु पर्दछ भनेर पटकपटक आवाज उठ्ने गरेको पनि छ । नेत्रहीन क्रिकेट सङ्घ नेपालका पदाधिकारीहरुले नेत्रहीन क्रिकेट र अपाङ्गता खेलकुदका बारेमा बेलाबखत सरकारको ध्यानाकर्षण गर्दै आइरहेका छन् । पछिल्लो पटक युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीसँग सङ्घका पदाधिकारीहरुले छलफल गरेका थिए ।

दृष्टिविहीनहरुले कसरी खेल्छन् ?

दृष्ट्रिविहिन क्रिकेट खेलाडीहरुले आवाजको प्रयोग गरेर क्रिकेट खेल्ने गर्दछन् । नेत्रहीनहरुले क्रिकेट खेल्दा प्रयोग गर्ने हार्ड प्लाष्टिकको बलभित्र रहेका साइकलका बल बेरिङको माध्यमबाट बल बज्ने गर्दछ । त्यही आवाज सुनेको आधारमा आवाजलाई पछ्याउंँदै ब्याटिङ गर्नेले ब्याटिङ गर्दछ भने बलिङ र फिल्डिङ गर्नेले पनि त्यसैलाई पछ्याएर क्रिकेट खेल्ने गरेका छन् ।

सबै नेत्रहीन खेलाडीले देख्छन् कि देख्दैनन् ?

दृष्ट्रिविहीन क्रिकेट खेल्ने सबै खेलाडी पुर्ण दृष्ट्रिविहीन हँुदैंनन् । वल्ड ब्लाइण्ड युनियनले मान्यता दिएको वैधानिक दृष्ट्रिविहीनअन्तर्गत क्रिकेटमा तीन प्रकारका खेलाडीहरुले खेल्ने गर्दछन् । जस्तै बी वान जसले पूर्ण रुपमा देख्दैन । बि टु जसले पाँच मिटरसम्म कुनै वस्तु हल्लिएको अनुभव गर्ने तर नदेख्ने तथा ठम्याउन नसक्ने, बि थ्री क्याटगोरीमा २० मिटर दूरीसम्म कुनै वस्तु हल्लिएको तथा चलिरहेको अनुभव गर्दछन् । एक टिममा चार जना बि वान, तीन जना बि टु तथा चार जना बि थ्री क्षमता भएका खेलाडीलाई खेलाउने गरिन्छ । पूर्ण दृष्ट्रिविहिन तथा कम देख्ने क्षमता खेलाडीहरुको समग्रता नेत्रहिन क्रिकेट मानिएको छ ।

सन् १९२२ मा अष्ट्रेलियाबाट नेत्रहीनहरुको क्रिकेटको सुरुवात भएको थियो । तर १०० वर्ष पुगिसकेको अवस्थामा पनि विश्वमा यो खेललाई अझ ब्यापक बनाउन सकिएको छैन । नेपाली नेत्रहीन खेलाडीहरुले अन्तर्राष्ट्रिय पहिचान बनाइसकेको अवस्थामा महत्वपूर्ण पदकहरु भित्र्याएर मुलुकको छवि अझ उच्च बनाउन नेत्रहीन क्रिकेट पनि महत्वपूर्ण माध्यम बन्न सक्दछ । तर यसका लागि शारिरिक रुपमा सक्षम क्रिकेट खेलाडीहरुलाई नेत्रहीन क्रिकेट खेलाडीहरुलाई पनि यथोचित सुविधा, यस खेलका लागि सरकारको उच्च प्राथमिकता तथा यथोचित लगानी भने अत्यावश्यक भैसकेको महसुस गरिएको छ ।

(लेखक खलकुद पत्रकारिताका जानकार हुनुहुन्छ ।)

प्रकाशित मिति: ३ कार्तिक २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्