मारिएका ५०१ युक्रेनी सैनिकको शव फिर्ता पाएको किएभको भनाइ


 


किएभ, २ कात्तिक । किएभले शुक्रबार विशेषगरी पूर्वी युक्रेनमा रुसी सेनासँग लड्दा मारिएका पाँच सय एक सैनिकको शव प्राप्त गरेको बताएको छ ।

सन् २०२२ मा रुसले आक्रमण गरेयता मस्को र किएभबीचको सहकार्यका केही क्षेत्रमध्ये कैदी र मारिएका सैन्यकर्मीहरूको शवहरूको आदानप्रदान एक रहेको छ ।

“स्वदेश फिर्ती उपायहरूको परिणामस्वरूप पाँच सय एक युक्रेनी रक्षकका शवहरू युक्रेनमा फिर्ता गरिएको छ”, युद्धबन्दीहरूको व्यवहारका लागि समन्वय मुख्यालयले विज्ञप्तिमा भनेको छ ।

यो घोषणा युद्धका सुरुआतदेखि मारिएका युक्रेनी सैनिकहरूको सबैभन्दा ठूलो स्वदेश फिर्ती मध्येको एक हो ।

मुख्यालयले अधिकांश अवशेषहरू पूर्वी डोनेट्स्क क्षेत्रबाट फिर्ता गरिएको बताएको छ । फेब्रुअरीमा औद्योगिक केन्द्र अभ्दिभ्किाको कब्जापछि रुसी सेनाले त्यहाँ लगातार अग्रता लिइरहेको छ ।

रेडक्रसको अन्तर्राष्ट्रिय समितिको सहयोगलाई स्वीकार गर्दै रक्षा बलसहित धेरै राज्य निकायले फिर्तीलाई समन्वय गर्न मद्दत गरेको मुख्यालयले बताएको छ ।

“कानून कार्यान्वयन निकायका प्रतिनिधि र फरेन्सिक विशेषज्ञहरूले पीडितहरूको पहिचान गर्नेछन्”, समन्वय केन्द्रले आफ्नो विज्ञप्तिमा भनेको छ, “पहिचानपछि हाम्रा रक्षकहरूका शवहरू उचित अन्त्येष्टिका लागि उनीहरूका परिवारलाई हस्तान्तरण गरिनेछ ।”

प्रकाशित मिति: २ कार्तिक २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्