पाकिस्तानमा चर्कियो विद्यार्थीको प्रदर्शन, झण्डै ४ सय जना विद्यार्थी पक्राउ


 


एजेन्सी । पाकिस्तानको पञ्जाब प्रान्तमा विद्यार्थीहरूको प्रदर्शन चर्किएको छ । विद्यार्थीहरूको प्रदर्शन चर्किएपछि शैक्षिक संस्थाहरू बन्द गरिएका छन् ।

प्रदर्शन चर्केसँगै पञ्जाब प्रान्तका अधिकारीहरूले शुक्रबार र शनिबार सार्वजनिक स्थानमा भेला हुनसमेत रोक लगाएका छन् ।

प्रान्तीय राजधानी लाहोरमा ‘पञ्जाब कलेज फर वुमेन’ को भवनको पार्किङस्थलमा एक छात्रामाथि बलात्कार भएको समाचार सामाजिक सञ्जालमा फैलिएपछि विद्यार्थीहरूको विरोध प्रदर्शन सुरु भएको हो ।

तर प्रहरी, कलेज र प्रान्तीय सरकारले कुनै पनि पीडित नभेटिएको र सामाजिक सञ्जालमा फैलिएको सूचना गलत भएको बताएका छन् ।

लाहोरका साथै राजधानी इस्लामावादसँग जोडिएको रावलपिण्डीका क्याम्पसहरूमा पनि प्रदर्शन फैलिएको छ । प्रदर्शनकारीहरूले लाहोरस्थित क्याम्पस र सवारी साधनहरूमा आगजनी गरेका छन् ।

प्रदर्शनका क्रममा कैयौं स्थानमा विद्यार्थी र प्रहरीबीच झडपहरू भएका छन् ।

रावलपिण्डी प्रहरीले बिहीबार सहरमा भएको प्रदर्शनमा तोडफोड र आगजनी गरेको आरोपमा ३ सय ८० जनालाई पक्राउ गरिएको र अनुसन्धान जारी रहेको जनाएको छ ।

विद्यार्थीहरूले भने सत्य ढाकछोप गरी आफ्नो संस्थाको साख जोगाउन सरकार र उच्च अधिकारीलाई घूस दिइएको दाबी गरेका छन्।

प्रकाशित मिति: २ कार्तिक २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्