दशैंमा कोशीमा सवारी दुर्घटनामा १४ जनाको मृत्यु


 


सुनसरी, कार्तिक २ । दशैंमा कोशी प्रदेशमा १४ जनाको मृत्यु भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गरेको तथ्यांक अनुसार दुई सय ६९ वटा सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको हो ।

घटस्थापनादेखि असोज २९ गतेसम्म भएको दुर्घटनामा १३ पुरुष र एक जना महिलाको मृत्यु भएको सुनसरीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । दुर्घटनामा सबैभन्दा बढी मोरङमा र सबैभन्दा कम धनकुटा र खोटाङमा मृत्यु भएको उनले बताए । उनका अनुसार मोरङमा ९५ ठाउँमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।

सुनसरीमा ६५ ठाउँमा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । झापामा ७२ वटा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । त्यसैगरी धनकुटा र खोटाङमा एक–एक जनाको मृत्यु भएको छ ।

उपरीक्षक घिमिरेका अनुसार १२ दिनमा सात हजार पाँच सय ९१ वटा सवारी कारबाहीमा परेका छन् । सवारी कारबाहीबाट ५१ लाख ९५ हजार पाँच सय राजस्व संकलन भएको छ ।

प्रकाशित मिति: २ कार्तिक २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्