नेपाल वायुसेवा निगमले बुझायो ५३ करोड किस्ता


 


काठमाडौं । नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई किस्ताबापतको रकम ५३ करोड बढी बुझाएको छ ।

निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्व मध्ये दुई न्यारोबडी जहाजको २०८१ असोज महिनाको किस्ताबापत पूरा र दुई वाइडबडी जहाजको आंशिक गरी असोज ३० गते ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरेको हो ।

निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हालेपश्चात निगमले २०८१ असोज मसान्तसम्मको अवधिमा ६ अर्व ३२ करोड ८५ लाख ९७ हजार ५३३ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको निगमका प्रवक्ता रमेश पौडेलले जनाएका छन् ।

साथै, विश्वव्यापी कोरोना भाइरसको कारण निगमको व्यापारमा समेत प्रतिकुल असर परेकोले सो असर रहेको अवधिको ब्याज, ब्याजको ब्याज, हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन तथा किस्ताको सङ्ख्या वृद्धि गरिदिन निगमले दुवै ऋणदातालाई अनुरोध गरेको जनाएको छ ।

निगमको सो अनुरोधको विषयमा द्विपक्षीय छलफल भइरहेको निगमका प्रवक्ता रमेश पौडेलले बताएका छन् ।

प्रकाशित मिति: १ कार्तिक २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्