राष्ट्रियसभा अध्यक्ष दाहाल र भारतीय लोकसभाका अध्यक्षबीच भेटवार्ता


 


काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल र भारतीय संसद् लोकसभाका अध्यक्ष ओम बिरलाबीच शिष्टाचार भेटवार्ता भएको छ।

अन्तर व्यवस्थापिका संघको १४९ औं महासभामा सहभागी हुन जेनेभामा रहेका अध्यक्ष दाहाल र लोकसभा अध्यक्ष बिरलाबीच द्विपक्षीय भेटवार्ता भएको हो।

सो अवसरमा दुई देशबीचको सम्बन्ध, संसदीय सहकार्य, अनुभव आदान प्रदान तथा आपसी हितका बारेमा छलफल भएको थियो ।
भेटमा राष्ट्रिय सभा अध्यक्ष दाहालले नेपाल-भारत दुई देशबीच कूटनीतिक-राजनीतिक तहमा मात्रै नभई जनस्तरमा गहिरो सम्बन्ध रहेको उल्लेख गर्दै जनताबीचको भावनात्मक सम्बन्धले दुई देशको सम्बन्धलाई अझ बलियो बनाएको बताए ।

संघीय संसदले विगतदेखि नै नेपाल-भारत संसदीय मैत्री समूह गठन गरिरहेको उल्लेख गर्दै अध्यक्ष दाहालले दुई देशका संसद्हरूबीचको पारस्परिक सहयोग, अभ्यास र अनुभव आदान प्रदानका लागि भेटघाट र भ्रमणलाई जोड दिनुपर्ने बताए ।

एक अर्काका संसदीय अभ्यास र अनुभव आदान प्रदानले लोकतान्त्रिक मूल्यमान्यतालाई सुदृढ गर्न र सम्बन्ध थप सुदृढ गर्न मद्दत पुग्ने अध्यक्ष दाहालले बताए ।

सो अवसरमा भारतीय लोकसभाका अध्यक्ष बिरलाले भारत र नेपाल छिमेकी मात्रै नभई ऐतिहासिक सम्बन्ध र संस्कृतिका संरक्षक भएको बताए ।

प्रकाशित मिति: १ कार्तिक २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्