विपद्‍बाट भएको क्षतिप्रति सरकार गम्भीर छ, पुनःनिर्माणको काम छिट्टै अघि बढ्छ : प्रधानमन्त्री ओली


 


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल पुनर्निर्माण र पुनःव्यवस्थापनका काम अघि बढाउने बताएका छन्।

प्राकृतिक विपत्तिका कारण भएको क्षति र पुनःनिर्माणबारे बालुवाटारमा जिल्लाको सर्वदलीय प्रतिनिधिमण्डलबाट दिइएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले हालैको बाढी, पहिरो र डुबानका कारण भएको क्षतिप्रति गम्भीर हुँदै सरकारले सुरक्षित एकीकृत बस्तीको योजनाका साथ तत्काल पुनःनिर्माण र पुनःव्यवस्थापनका काम अघि बढाइने बताए।

प्रधानमन्त्री ओलीले बिहीबार बस्ने राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन परिषद् र मन्त्रिपरिषद्को बैठकबाट प्रारम्भिक राहत र अस्थायी आवास तथा पुलहरु निर्माणबारे निर्णयहरु गरिने बताए ।

प्रधानमन्त्री ओलीले बाढी र पहिरोका कारण काठमाडौं जोड्ने विभिन्न सडकहरु अवरुद्ध बनेकामा सोचेभन्दा छिटो गतिमा काम गरेर अस्थायीरुपमा सडक सञ्चालनमा आएको उल्लेख गरे।

उनले बजेटका बाबजुद सकभर मागेर भन्दा आफ्नै बुँतामा पुनः निर्माण र पुनःव्यवस्थापनका कामहरु गर्नुपर्नेमा जोड दिँए।

उनले फलाम खानी खुल्ने क्रममा रहेकाले सञ्चालनमा आएपछि बेलिब्रिजलगायत फलामका कच्चा पदार्थ स्वदेशमै उत्पादन हुने बताए ।

प्रकाशित मिति: ३० आश्विन २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्