कात्तिक महिनामा पनि घट्यो निक्षेपको ब्याजदर


 


काठमाडौं । कात्तिक महिनाका लागि बैंकहरूले मुद्दती निक्षेप ब्याजदर सामान्य घटाएका छन्।

२० वाणिज्य बैंकको व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ब्याजदर असोजको तुलनामा कात्तिकमा घटेको हो।

असोजमा यी बैंकको अधिकतम व्यक्तिगत मुद्दतीको औसत ब्याजदर ६.३९ प्रतिशत रहेकोमा कात्तिकमा ६.१८ प्रतिशतमा झरेको छ ।

यसअघि भदौमा अधिकतम व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ६.५० प्रतिशत थियो।सार्वजनिक सूचनाअनुसार कात्तिकमा एउटा बैंक सानिमाले व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर असोजको तुलनामा बढाएको छ ।

त्यस्तै १० बैंकले यस्तो ब्याजदर घटाएका छन् भने ९ बैंकले स्थिर राखेका छन् । व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाउनेमा कृषि विकास, राष्ट्रिय वाणिज्य, लक्ष्मी सनराइज, प्राइम, सिटिजन्स, नबिल, सिद्धार्थ, स्टान्डर्ड चार्टर्ड, एनआईसी एसिया र हिमालयन बैंक छन्।

स्थिर राखेकामा ग्लोबल आईएमई, कुमारी, एसबीआई, नेपाल, इन्भेस्टमेन्ट मेगा, माछापुच्छ्रे, एभरेस्ट, एनएमबी र प्रभु छन्।

कात्तिकमा व्यक्तिगत मुद्दतीमा अधिकतम ब्याजदर ७ र न्यूनतम ब्याजदर जम्मा ५.७५ प्रतिशत कायम भएको छ ।

लामो अवधिको व्यक्तिगत मुद्दती निक्षेपमा केही उच्च ब्याजदर र छोटा अवधिको मुद्दती निक्षेपमा ब्याजदर केही कम गर्ने नीति बैंकहरूको देखिन्छ।

प्रकाशित मिति: ३० आश्विन २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्