देशभर १९ हजारभन्दा बढीमा डेंगी संक्रमण


 


काठमाडौं, असोज ३० । देशभर १९ हजार भन्दा बढी व्यक्तिमा डेंगी संक्रमण पुष्टि भएको छ ।

पछिल्लो तथ्यांक अनुसार डेंगी संक्रमितको संख्या १९ हजार ५ सय ९९ पुगेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । डेंगी संक्रमणबाट हालसम्म नौ जनाको मृत्यु भइसकेको छ ।

महाशाखाका अनुसार डेंगी संक्रमण मुलुकका ७६ जिल्लासम्म फैलिएको जनाएको छ । सबैभन्दा बढी काठमाडौंमा हालसम्म तीन हजार एक सय तीन जना डेंगी संक्रमण भएको छ ।

यस्तै, कास्कीमा दुई हजार आठ सय ४७ जनामा डेंगी संक्रमण देखिएको छ । तनहुँमा २ हजार १०७, पर्वतमा १ हजार ५६२, चितवनमा ९७१, ललितपुरमा ८२७, गोरखामा ५८८, बाग्लुङमा ६१०, भक्तपुरमा ३५५ र स्याङ्जामा ३३५ जनामा डेंगी संक्रमण पुष्टि भइसकेको महाशाखाले जनाएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका रिसर्च युनिटका संयोजक तथा संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार पोस्ट मनसुन सुरु हुँदा डेंगीको जोखिम बढ्ने सम्भावना हुन्छ ।

२०८० को पुस मसान्तसम्म देशभर झण्डै ५२ हजारभन्दा बढीमा डेंगी संक्रमण पुष्टि भएकोमा २० जनाको मृत्यु भएको थियो । डेंगी एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको कीटजन्य रोग हो ।

लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने, खाल्डाखुल्डी पुर्ने, सुत्ने बेला झुलको प्रयोग गर्न चिकित्सकहरुको सुझाव छ ।

प्रकाशित मिति: ३० आश्विन २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्