देशमा धेरै दलहरू हुँदा सरकार अस्थिर भयो : शंकर पोखरेल


 


दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अर्थतन्त्रमा सकारात्मक सुधार आएको बताएका छन्।

तुल्सिपुरमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन्।

उनले कांग्रेस र एमाले नेतृत्व सरकार गठन भएसँगै अर्थतन्त्रमा सुधार हुन थालेको बताए।

धेरै दलहरू हुँदा सरकार अस्थिर भएको उनको भनाई छ। उनले सरकारका लागि दुई दलको मात्रै विकल्प रहेको उल्लेख गरे।

हंग पार्लियामेन्ट नीतिको कार्यान्वयनमा चुनौती हुने गरेको महासचिव पोखरेलको भनाई छ। उनले विकासमा जनताको प्रत्यक्ष सहभागिता भएमात्रै दिगोपन आउने बताए।

उनले योजनाको पहिचान र छनोट, कार्यान्वयन र प्रतिफल वितरणसम्म जनतालाई जोड्न सके विकास छिटो र दिगो हुने बताए। महासचिव पोखरेलले विकासमा राजनीतिक सहमति आवश्यक रहेको धारणा राखे।

जनतालाई आशाको सन्देश प्रवाह गर्न कार्यकर्ताहरुलाई निर्देशन दिँदै उनले जनताले नयाँ कुरा अपेक्षा राख्नु स्वभाविक भएकाले सरकारले अघि सारेका नयाँ कुरा जनतामा पुर्‍याउन आग्रह गरे।

उनले तीन तहकै सरकारबीच समन्वय र सहकार्यबाट जनताले विकासको प्रत्यक्ष अनुभूति गर्न सक्ने स्पष्ट पारे।

प्रकाशित मिति: २९ आश्विन २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्