बाबर आजमलाई टोलीबाट हटाउने तयारी


 


काठमाडौँ । इङ्ल्यान्डविरुद्धको दोस्रो टेस्ट क्रिकेटमा पूर्वकप्तान बाबर आजमलाई पाकिस्तानी टोलीमा समावेश नगरिने भएको छ । निरन्तरको निराशाजनक प्रदर्शनका कारण उनलाई दोस्रो टेस्टका लागि टोलीमा नराख्न छनोट समितिले सुझाव दिएको समाचारमा जनाइएको छ ।

पहिलो टेस्टमा घरेलु मैदानमा इङ्ल्यान्डसँग लज्जास्पद हात भोगेपछि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले आफ्नो राष्ट्रिय टोली छनोट समितिमा पनि परिवर्तन गरेको थियो । नयाँ छनोट समितिले नै बाबर आजमलाई टोलीमा समावेश नगर्न सुझाव दिएको बताइएको छ ।

इङ्ल्यान्डविरुद्धको पहिलो टेस्टमा पनि बाबर आजमले निकै कमजोर प्रदर्शन गरेका थिए । उनी पहिलो पालीमा केवल ३० रन बनाउँदै आउट भएका थिए । दोस्रो पालीमा पनि उनी केवल पाँच रनमै पभेलियन फर्किएका थिए ।

उक्त टेस्टमा भ्रमणकारी इङ्ल्यान्डले पाकिस्तानलाई एक पाली र ४७ रनको विशाल अन्तरले हराएको थियो । पाकिस्तान र इङ्ल्यान्डबिचको दोस्रो टेस्ट अक्टोबर १५ तारिखमा मुल्तानमै सुरु हुँदैछ । तेस्रो तथा अन्तिम टेस्ट भने अक्टोबर २४ तारिखदेखि रावलपिण्डीमा सुरु हुनेछ ।

पाकिस्तानी टोली छनोट समितिको बैठक शनिबार मुल्तानमा बसेको थियो । सोही बैठकले बाबर आजमलाई टोलीबाट हटाउन सुझाव दिएको समाचारमा जनाइएको छ । हाल पाकिस्तानी टोली सान मसुदको कप्तानीमा रहेको छ ।

प्रकाशित मिति: २७ आश्विन २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्