बाढीपहिरो पीडित आफन्तकहाँ आश्रय लिएर दसैँ मनाउँदै


 



खोटाङ, २५ असोज । बाढी तथा पहिरोबाट विस्थापित भएका जिल्लाका ३३ परिवार आफन्त, छिमेकी, विद्यालय भवनमा तथा सार्वजनिक स्थलमा बसेर दसैँ मनाइरहेका छन् ।

यही असोज ११ र १२ गते आएको बाढी तथा पहिरोबाट सबैभन्दा बढी बाराहापोखरी गाउँपालिका–५ पौवासेरास्थित बङ्सिलाघाटमा १४ परिवार विस्थापित भएका छन् ।

सुनकोशी किनारमा पर्ने बङ्सिलाघाटमा पानी बहाव घट्दै गएपछि केही परिवार बाढीले क्षतिग्रस्त घर मर्मत गर्दै सर्न थालेको स्थानीयवासी एवं नेपाली कांग्रेस बराहपोखरी गाउँपालिका कार्यसमिति सभापति खिलाराज राईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सुनकोशीमा आएको बाढीले घर तथा घरमा भएका सम्पूर्ण सामग्री गुमाएका उनीहरुका लागि अहिले दसैँ न तिहार भएको छ ।” 

हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित जयरामघाट र ऐँसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलमा सात÷सात परिवार विस्थापित भएका छन् । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कमा दुई, रावाबेँसी गाउँपालिका–६ हौँचुरमा एउटा परिवार पहिरोबाट विस्थापित भएका छन् । पहिरोले विस्थापित भएकाहरूमध्ये चन्द्रबहादुर राई छिमेकी सुनिल राईको घरमा, टेकुराम राई छिमेकी भीमबहादुर माझीको घरमा र सुमित्रा राईले काठमाडौँमा दसैँ मनाइरहेका हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ बहादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभयो । 

“बाढीपहिरोले घर तथा घरमा भएका सम्पूर्ण सामग्री गुमाएपछि पीडितका लागि वडासँगको समन्वयमा खाने र बस्ने व्यवस्था मिलाइएको छ । दसैँ, तिहार तथा छठ पर्व सकिएपछि आवास निर्माणको पहल गर्ने योजनामा छौँ”, उहाँले भन्नुभयो । 

बाढीपहिरो पीडितलाई तत्कालका लागि स्थानीय सरकारले सामान्य खाने तथा बस्ने व्यवस्था मिलाए पनि दीर्घकालीन योजना बनाउनुपर्ने जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले बताउनुभयो । बाढीपहिरो पीडित परिवारका लागि मात्र नभई यस वर्षको दसैँ, तिहार तथा छठ पर्व समग्र जिल्लावासीका लागि खल्लो भएको छ । जागिर तथा अध्ययनका लागि राजधानी काठमाडौँलगायत सहर बजारमा बसोबास गर्दै आएका आफन्त सडक अवरुद्धका कारण धेरैजसो यस वर्षको दसैँ तथा तिहारमा घर फर्कन पाएनन् । 

बाढीले दिक्तेल–गाईघाट सडकमा पर्ने सुनकोशीस्थित फोक्सिङटारको पुल बगाएपछि पूर्वी तराईसँगको सिधा यातायात सम्पर्क विच्छेद भएको छ । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने आर्क डिजाइनको मोटरेबल पुल बगाएपछि सिधा यातायात सम्पर्क विच्छेद भएको हो ।

बाढी तथा पहिराले अवरुद्ध बनेका जिल्लाका अधिकांश ग्रामीण सडक अझै सञ्चालनमा आएको छैनन । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी तथा दिक्तेल–चखेवाभञ्ज्याङ सडक भने पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको छ ।८

प्रकाशित मिति: २५ आश्विन २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्