दशैं, घुमफिर र गन्तव्य


 


शेखर ढकाल
सम्भावित पर्यटकीय स्थलहरू
बिदाको बेला घुम्न जाँदा त्यसै जानुभन्दा जाने ठाउँबारे जानकारी लिएर जाँदा यात्रा आरामदायी, छिटो, सस्तो र आफूले चाहेजस्तो बनाउन सकिन्छ । यसका लागि विभिन्न ट्राभल एजेन्सीले टुर प्याकेज नै बनाउँछन् । ती प्याकेजबारे जानकारी लिएर आफूलाई उपयुक्त लाग्ने छान्न सकिन्छ ।
………………………………….

चाडपर्व नेपाली संस्कृतिको मूल विशेषता हो । चाडपर्व मनाउने तरिका स्थान, समुदाय र परिस्थितिअनुसार फरक–फरक हुन्छ । विविधताले युक्त संस्कृति भएको हाम्रो समाजको प्रतिनिधित्व हाम्रो राजनीतिक, प्रशासनिक र व्यावहारिक पक्षसँग पनि जोडिन्छन् ।

चाडपर्वलाई राज्यले उत्सवका रूपमा मनाउन यस समयमा लामो बिदा दिने गरेको छ । यसरी पाइने बिदाको समय मानिसले घर, परिवार र साथीभाइसँग मिलेर पर्वलाई अझ रङ्गीन र उत्सवमय बनाउँछन् ।

कतिपयलाई घुमफिर रमाइलो लाग्छ । केहीलाई लेख्न, पढ्न मन लाग्छ । समय र परिस्थितिले घरमा चाडपर्व मनाउने अवसर नमिलेका र घुमफिर गरेरै चाडपर्व मनाउने व्यक्तिहरूका लागि दशैं बिदा घुमफिरका लागि उपयुक्त अवसर हो । यतिबेला मौसमले पनि साथ दिन्छ । न गर्मी नत जाडो, घुम्नका लागि उपयुक्त हुन्छ ।

लामो बिदालाई सदुपयोग गर्दै विदेशीमात्रै नभएर नेपाली पनि घुम्न जाने प्रचलन बढ्दो छ । तर धेरैलाई कहाँ जाने ? कसरी जाने ? खर्च कति लाग्छ ? समय कति लाग्छ ? जस्ता अन्यौलता छन् । घुम्न जाँदा त्यसै जानुभन्दा यी सबै जानकारी लिएर गयो भने यात्रा आरामदायी, छिटो, सस्तो र आफूले चाहेजस्तो बनाउन सकिन्छ ।

यस्तो यात्रा व्यवस्थापनका लागि विभिन्न ट्राभल एजेन्सीले टुर प्याकेज नै बनाउँछन् । ती प्याकेजहरूको अध्ययन गरेर आफूलाई उपयुक्त लाग्ने प्याकेज छान्न सकिन्छ । यसरी घुम्ने गन्तव्य छान्दा आफू र आफ्नो समूहलाई जान इच्छा भएको ठाउँ, त्यसमा जान लाग्ने खर्च, समय आदिको आधारभूत जानकारी लिँदा यात्रा सहज हुन्छ ।

यस आलेखमा काठमाडौंलाई आधार मानेर नेपालभरका आकर्षकमध्ये १५ वटा पर्यटकीय गन्तव्यको आधारभूत जानकारी दिने प्रयास गरिएको छ ।

१. गोसाइँकुण्ड

काठमाडौंबाट दुई दिनमा पुग्न सकिने धार्मिक तथा पर्यटकीय गन्तव्य हो, रसुवा जिल्लाको गोसाइँकुण्ड । गोसाइँकुण्ड जाँदा बाटोमा पर्ने झरना, कुण्ड नजिकै देखिने भैरवकुण्ड, सूर्यकुण्ड, यात्रामा देखिने लाङटाङ हिमाल, गणेश हिमालको आकर्षक दृश्यले जोकसैको मन खुसी बनाउँछ ।

काठमाडौंबाट बस चडेर सात घण्टामा जिल्ला सदरमुकाम धुन्चे पुग्न सकिन्छ । धुन्चेबाट पूरै दिन पैदलयात्रा गरेपछि पुगिन्छ गोसाइँकुण्ड । गोसाइँकुण्ड जाने बाटोमा विषालु फूल फुल्ने र उच्च भेग भएकाले लेक लाग्न सक्छ । टाउको दुख्ने, वाकवाकी लाग्ने हुनसक्छ । त्यस्तो समस्या आए यात्रा अगाडि नबढाउनु नै राम्रो हुन्छ । यसको लागि साथमा लसुन, पानी, टाउको दुखेको औषधि बोक्दा राम्रो हुन्छ । यातायात, खाना, बाससहित प्रतिव्यक्ति १० हजार रुपैयाँले गोसाइँकुण्ड पुगेर काठमाडौं फर्कन सकिन्छ ।

२. लाङटाङ

संघीय राजधानी काठमाडौंबाट नजिकको अर्को पर्यटकीय गन्तव्य हो, रसुवा जिल्लाको लाङटाङ । हिमाल हेर्न चाहनेका लागि नजिकको गन्तव्य मानिन्छ लाङटाङ हिमाल । यहाँ पुग्न काठमाडौंबाट तीन दिन लाग्छ ।

काठमाडौंबाट हिंडेको पहिलो दिन स्याफ्रुबेंसी बास बस्न पुगिन्छ । त्यहाँबाट एकदिन र अर्को दिन ६ घण्टा हिंडेपछि मनोरम हिमाली क्षेत्र लाङटाङ पुगिन्छ ।

हिंड्दा बीचमा बास बस्ने र माथि पुगेर बस्नका लागि होटलहरूको व्यवस्था छ । लाङटाङ पुग्दा हिमालको काखमा बसेको अनुभूति हुन्छ । प्रतिव्यक्ति १२ हजार रुपैयाँ भए दुई दिन बास बसेर काठमाडौं फर्कन सकिन्छ ।

३. नगरकोट

नगरकोट काठमाडौंबाट नजिकै रहेको आकर्षक पर्यटकीय गन्तव्य हो । बसबाट यात्रा गरेर एक घण्टामै नगरकोट पुग्न सकिन्छ । यो समय नगरकोट घुम्नका लागि उपयुक्त समय पनि हो । बस्नका लागि सस्तादेखि महँगा होटल छन् । सूर्योदय र सूर्यास्त हेर्न पनि नगरकोट प्रख्यात छ । तपाईं कस्तो होटलमा खाना नास्ता गर्न चाहनु हुन्छ ? कति दिन बस्नु हुन्छ ? त्यसैअनुसार खर्च छुट्याउनु पर्छ ।

४. पोखरा

दशैं बिदामा घुम्नलायक स्थानमध्ये पोखरा प्रमुख गन्तव्यमा पर्छ । पर्यटकीय राजधानी पोखरा पर्यटकका लागि सहज र आकर्षक स्थान हो । किनकि यहाँ घुमघामको पूर्ण प्याकेज पाउन सकिन्छ ।

पोखरामा सारङकोट या धम्पुस, घान्द्रुक, शान्ति–स्तूपा, जहाँ पुगे पनि एक दिनमा पुनः होटेलमै फर्कन सकिन्छ । त्यहाँ पुगेर केबल खाने र बस्नेमात्र होइन, त्यहाँ प्याराग्लाइडिङ, जीपलाइन, अल्ट्राफ्लाइट, बोटिङ, साइक्लिङ, हाइकिङ अनेक रोमाञ्चक गतिविधिमा भाग लिन सकिन्छ ।

आफ्नो बजेटअनुसार पाँचतारे होटल वा सस्तो लजमा बसेर घुमघाम गर्न सकिने पोखराको विशेषता सफा र शान्त वातावरण पनि हो । पोखरामा तपाईंले बिताउने दिने र सेवा लिने होटलको आधारमा खर्च छुट्याउनु पर्ने हुन्छ ।

५. मुक्तिनाथ

धार्मिक आस्था राख्ने र हिमाली जीवनको अनुभव लिन चाहनेका लागि मुक्तिनाथ यात्रा सबैभन्दा उपयुक्त गन्तव्य हो । काठमाडौंबाट पोखरा, जोमसोम हुँदै तेस्रो दिन मुक्तिनाथ मन्दिर पुग्न सकिन्छ । नवरात्रिको समयमा मुक्तिनाथमा स्नान गर्नु धार्मिक दृष्टिकोणबाट निकै महत्वपूर्ण मानिन्छ । यो हिमाल खुल्ने समय पनि हो ।

बाटैमा पर्ने कागबेनीमा एकरात बसेर तिब्बती सभ्यताको अवलोकन गर्न सकिन्छ । तिब्बती सभ्यताको नमुना क्षेत्र हो कागबेनी । पुरानो सभ्यताको अवलोकन गर्दा छुट्टै महसुस हुनेछ ।

काठमाडौंबाट मुक्तिनाथ पुगेर फर्कन कम्तीमा ५ दिनको समय छुट्याउनु राम्रो हुन्छ । खर्च भने तपाईं बस्ने होटलको स्तरअनुसार फरक पर्छ । प्रतिव्यक्ति कम्तीमा १५ हजार रुपैयाँमा मुक्तिनाथ घुमेर फर्कन सक्नुहुनेछ ।

६. घलेगाउँ

लमजुङका दुई चर्चित गाउँ घनपोखरा र घलेगाउँ पर्छन् । फरक खालको दशैंको अनुभव लिन र ग्रामीण जनजीवनमा रमाउने गरी यात्राको योजना बनाउन सक्नुहुन्छ । घलेगाउँ होमस्टेका लागि चर्चित स्थान हो । परम्परागत गुरुङ संस्कृति, घाँटु, सोरठी, सेर्गा नाच यस गाउँको प्रमुख विशेषता हो ।

हिमालको काखमा घलेगाउँबाट माछापुच्छ्रे, अन्नपूर्ण, लमजुङ, हिमालचुली, मनास्लु, गणेशलगायतका हिमशृङ्खला अवलोकन यहीबाट गर्न सकिन्छ । गाउँको स्वच्छ वातावरणमा केही दिन होमस्टेमा बसेर हिमाली जीवनको मज्जा लिन सकिन्छ ।

लमजुङ सदरमुकाम बेंसीसहरबाट २४ किलोमिटरको यात्रा गर्न मोटरमा डेढ घण्टा लाग्छ । काठमाडौंबाट एकदिनमा बेंसीसहर र दोस्रो दिन घले गाउँ पुग्न सकिन्छ । दुई दिन घलेगाउँ बस्ने हो भने ५ दिनमा घुमेर काठमाडौं फर्किइन्छ । सार्वजनिक बसमा जाँदा बस भाडा, खाना बस्नसहित न्यूनतम १० हजार खर्चले पुग्छ । तर तपाईं बेंसीसहरमा कस्तो होटलमा बस्नुहुन्छ त्यसअनुसार खर्च निर्भर गर्छ ।

७. रारा ताल

रारा ताल एकपटक पुग्नै पर्ने स्थान हो । कर्णालीको मुगुमा रहेको रारा ताल नेपालको सबैभन्दा ठूलो र प्रसिद्ध ताल हो । समुद्र सतहदेखि २९७२ मिटर उचाइमा रहेको तालको लम्बाइ ३.२ किलोमिटर र गहिरा १६७ मिटर छ ।

बदलिइरहने पृष्ठभूमिमा गाढा नीलो पानीले भरिएको रारा ताल हेर्दा स्वर्ग पुगेको आभास हुन्छ । दिनभरिमा आफ्नो रुप फेरिरहने रारा ताल जेठदेखि असोज महिनासम्म विभिन्न फूलहरूले सजिएर स्वर्गकी अप्सराजस्तै देखिन्छ । ताल वरिपरि फन्को लगाउन गोरेटो बाटो छ ।

रारा जान अहिले हवाई तथा स्थलमार्ग दुवै प्रयोग गर्न सकिन्छ । स्थलमार्ग हुँदै आफ्नै सवारी साधनमा जाने हो भने ताल नजिकैको सल्लाघारीमा गएर रोकिन्छ । हवाई मार्गबाट जाँदा ताल्चा विमानस्थलबाट करिब दुई घण्टा हिंडेपछि रारा पुगिन्छ ।

रारा जानको लागि सबैभन्दा सस्तो रुट छनौट गर्ने हो भने १७ हजारमै रारा पुगेर काठमाडौं आउन सकिन्छ । काठमाडौंबाट २७ सय रुपैयाँ बस भाडा लाग्छ । बाटोमा खाजा खानाका लागि एक हजार भए पुग्छ ।

जुम्ला सदरमुकाम बसाइका लागि एक हजार रुपैयाँमा खानासहित बास पाइन्छ । त्यहाँबाट रारा तालसम्म हिंडेर दुई दिनमा पुग्नका लागि तीन हजार रुपैयाँ भए पुग्छ । फेरि सोही रुटबाट फर्कँदा करिब १७ हजारमा काठमाडौं आइपुगिन्छ ।

८. खप्तड राष्ट्रिय निकुञ्ज

खप्तड राष्ट्रिय निकुञ्ज पश्चिम नेपालमा अवस्थित छ । पहाडी चार जिल्ला बझाङ, बाजुरा डोटी र अछामको संगम स्थलमा खप्तड राष्ट्रिय निकुञ्ज छ । यो निकुञ्ज २२५ वर्ग किमि क्षेत्रफलमा फैलिएको छ ।

निकुञ्जमा सल्ला, खसुर र निगाले जंगलका साथै वन्यजन्तुका लागि उपयुक्त घाँसे मैदान छन् । जैविक विविधताको फूलबारी खप्तडमा २२ वटा पाटन छन् । त्यहाँ सयौं थरी चरा, ३७२ प्रजातिका वनस्पति र १३० थरीका जडिबुटी पाइन्छ ।

खप्तडको डाँफे कोट र भ्यूटावरबाट भारतको नन्दादेवी हिमालदेखि दार्चुलाको अपी, बझाङ सैपाल र बाजुराको बडी मालिकालगायत दर्जनभन्दा बढी हिमाल हेर्न पाइन्छ ।

काठमाडौंबाट धनगढी हुँदै डोटी सदरमुकाम सिलगढीबाट पैदलयात्रामा पहिलो बास झिग्राना बसेर त्यहाँबाट ८ घण्टा पदयात्रामा निकुञ्ज पुग्न सकिन्छ । खप्तडका लागि १० दिनको समय र कम्तीमा २५ हजार रुपैयाँ खर्च छुट्याउनु पर्छ ।

९. ककनी र नुवाकोट दरबार

नुवाकोटको ककनी काठमाडौंबाट जम्मा २५ किमिको यात्रामै पुग्न सकिने पर्यटकीय गन्तव्य हो । प्रकृतिप्रेमीका लागि यो स्थान उपयुक्त मानिन्छ । यहाँबाट पश्चिममा लमजुङ र मनास्लु हिमाल, उत्तरमा गणेश र लाङटाङ तथा पूर्वमा गौरीशंकर हिमाल नांगो आँखाले स्पष्टसँग देख्न सकिन्छ ।

यसैगरी नुवाकोटको ऐतिहासिक साततले दरबार घुम्नका लागि उपयुक्त स्थान हो । राजधानीबाट एकै दिनमा पुगेर फर्किन सकिने भएकाले बिदाको समयमा धेरै मानिस त्यहाँ पुग्छन् । त्रिशूली र देवीघाट विद्युत् गृहको अवलोकनपछि त्रिशूलीमा एक रात बसेर पुनः ट्राउट हाइवेको माछा खाँदै पर्यटकीय गन्तव्यस्थल ककनीबाटै फर्किन सकिन्छ ।

१०. रुवी भ्याली

‘मेन्दोमाया’ भाकाको उत्पत्ति भएको उच्च हिमाली उपत्यका हो धादिङ जिल्लाको उच्च हिमाली क्षेत्र रुवी भ्याली । यहाँ गीत गाउँदागाउँदै तन्नेरी–तरुनीले एक अर्कोलाई मन पराए भने बिहे नै गर्ने प्रचलन जीवितै छ । तामाङ समुदायको मौलिक संस्कृति मेन्दोमायासँगै लाखे नाच, माने नाच, पारु नाच यहीँ हेर्न पाइन्छ ।

रुवी भ्याली यात्राको अर्को विशेषता यहाँको दशैंको माहौल पनि हो । स्थानीय भाषामा ‘मार हान्ने’ भन्ने चलनअनुसार युवाहरूले दशैंमा राँगा काट्ने गर्छन् । यसबेला ठूलै मेला लाग्छ । अलि फरकखालको दशैंको झल्को रुवी भ्यालीको यात्रामा मिल्नेछ ।

रसुवाको लाङटाङबाट गत्लाङ हुँदै रुवी भ्याली पदयात्रामा निस्कियो भने गणेश हिमालको आकर्षक दृश्यावलोकन गर्न सकिन्छ । साथै नुवाकोट, बेत्रावती, मैलुङ, स्याफ्रुवेशी, सोमदाङ गणेश हिमालको फेदी हुँदै पाङसाङ पाससम्म सडक मार्गमार्फत पुग्न सकिन्छ ।

पाङसाङ पास व्यस्त शहरी भीडभाडबाट मन शान्त पार्दै ‘वान नाइट स्टे’ गर्नको लागि एकदमै उपयुक्त र रमणीय ठाउँ हो । समुद्री सतहदेखि ३ हजार ८ सय ५० मिटर उचाइमा रहेको पाङसाङ पासबाट मनोरम हिमशृंखलाहरू, सुन्दर पहाडी प्राकृतिक दृश्यहरू अवलोकन गर्न सकिन्छ ।

११. लुम्बिनी–बर्दिया

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी । यो एक ऐतिहासिक धार्मिक पर्यटकीय गन्तव्य हो । इ.पू. २४९ मा मौर्य सम्राट अशोकले यस स्थलको तीर्थाटन गरेका थिए र यस तीर्थाटनको संस्मरणमा अभिलेख पनि कुँदाएको लोकोक्ति अहिले पनि छ ।
लुम्बिनीमा फरक शैलीमा निर्माण गरिएका गुम्बा, मन्दिरहरू छन् ।

सबैभन्दा राम्रो अनि मुख्य आकर्षण केन्द्रका रुपमा मायादेवी मन्दिर छ । गुम्बा, मन्दिरहरू चारैतिर बुद्धका मन्दिरहरू छन् । विभिन्न घटनाक्रम सम्झाउने बुद्धको जीवनीसँग सम्बन्धित तस्बिर र मूर्तिहरू पनि छन् । फूलहरू रोपेको, हरियो दुबोहरू राम्रो छ । पर्यटकीय र धार्मिक दुवै हिसाबमा लुम्बिनी राम्रो छ । ध्यान गर्न चाहनेका लागि पनि यो उपयुक्त स्थान मानिन्छ ।

लुम्बिनी पुगेपछि बर्दिया राष्ट्रिय निकुञ्जका लागि पनि कम्तीमा २ दिनको समय छुट्याउनु आवश्यक छ । पारिवारिक भ्रमणका लागि उपयुक्त बर्दियामा होमस्टेमा बस्दा सबैभन्दा राम्रो हुन्छ । किनकी थारु समुदायको दशैं अनुभव गर्ने मौका मिल्छ ।

जताततै हरियाली, न कठ्याङ्ग्रिने जाडो न त उखरमाउलो गर्मी, सन्तुलित मौसम । तराईको फाँटमा धान जुलेको, हरियाली जंगल यी सबै अनुभव एकै यात्रामा प्राप्त हुनेछ । त्यहाँ जान सार्वजनिक यातायातको सुविधाका कारण यो गन्तव्य आम मानिसका लागि सहज छ । जंगल सफारीको आनन्दसमेत लिन सकिन्छ ।

लुम्बिनी बर्दियाका लागि ५ दिनको समय र न्यूनतम १० हजार रुपैयाँ प्रतिव्यक्ति खर्चले पुग्छ । त्यसो त यात्राको सवारी र खाने बस्ने होटल कुन स्तरको प्रयोग गर्ने त्यसअनुसार खर्च व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

१२. इलाम–ताप्लेजुङ

पूर्वी नेपालको धरान, धनकुटा, भेंडेटार हुँदै ताप्लेजुङसम्मको यात्रा पनि मनोरञ्जनात्मक हुन्छ । यो यात्रामा कोशीटप्पु, धरान भेंडेटार घुमेर इलामको कन्याम, फिक्कल हुँदै इलामबजार र ओलाङचुङगोलादेखि पाथिभरासम्मको यात्रा गर्दा अझ रोमाञ्चक हुनेछ ।

जसमा धरान–धनकुटामा किराँत (राई) समुदायले लगाउने सेतो अक्षताको टीकाको फरक अनुभव पाउन सकिन्छ । यो गन्तव्य फोटोग्राफीका लागि पनि उत्तिकै आकर्षक छ । कोशी टप्पुमा हात्ती सयर र चराको अवलोकन गर्न सकिन्छ । इलाममा चियाबारीको मनमोहक दृश्य र श्रीअन्तुमा होमस्टे बसेर सूर्योदयको दृश्य अवलोकन गर्न पाइन्छ ।

पृष्ठभूमिमा कञ्चनजंघा र कूम्भकर्ण हिमाल देखिनेछ । धार्मिक दृष्टिकोणबाट पाथिभरा माताको दर्शन पनि निकै फलदायी हुनेछ । यसका लागि १० दिनको समय र न्यूनतम २० हजार रुपैयाँ खर्च छुट्याउनु पर्नेछ ।

१३. सौराहा

नेपालको आकर्षक पर्यटकीय गन्तव्य हो, चितवनको सौराहा । चितवन राष्ट्रिय निकुञ्जको मध्यमा पर्ने यो क्षेत्रमा धेरै होटल, लज, रिसोर्ट र रेस्टुरेन्टहरू छन् । निकुञ्ज र सामुदायिक वनमा हात्ती र जीप सफारी गर्नका लागि पनि यो ठाउँ प्रसिद्ध छ ।

सौराहा विश्व सम्पदा सूचीमा रहेको चितवन राष्ट्रिय निकुञ्जको छेउमा नै अवस्थित छ । सो निकुञ्ज ९३२ स्क्वायर किलोमिटर क्षेत्रफलमा फैलिएको छ । जुन हात्ती, गैंडा, बाघ, मृग, जरायो, मयूर, चित्तल, बदेललगायत वन्यजन्तुको साझा बासस्थान हो ।

सौराहामा सामान्य गेष्ट हाउसदेखि पाँचतारे स्तरका होटल सञ्चालनमा छन् । जसको मूल्य प्रतिरात १ हजारदेखि १५ हजार रुपैयाँसम्म रहेको छ । यहाँ ३०० देखि १५०० सम्ममा खाना खान पाइन्छ । चार दिनको समय र कुन स्तरको होटलमा बस्ने त्यसअनुसारको बजेट व्यवस्थापन गर्नुपर्नेछ ।

१४. केरुङ

छिमेकी मुलुक चीनको ‘रसुवागढी–केरुङ’ नाका जोडिएको पर्यटकीय क्षेत्र लाङटाङ र ‘रसुवागढी–केरुङ’ मा दशैंका बेला निकै चहलपहल हुन्छ । यस क्षेत्रको यात्राका लागि उपयुक्त मौसम यही महिना हो । दशैं बिदाको समयमा यस क्षेत्र फोटो र भिडियोको सौखिनहरूका लागि अति उपयुक्त हुन्छ ।

भन्सार नाका क्षेत्र भएकाले अहिले यहाँ पुग्नलाई समस्या छैन । काठमाडौंबाट जम्मा १७० किमिको स्याफ्रुबेंसीसम्म बस पाइन्छ । मौसम राम्रो भयो भने जीपमा थाङजिमसम्मै पुगिन्छ । बालाजुबाट यहाँसम्म पुग्न करिब ८ घण्टा मात्र लाग्छ ।

१५. विभिन्न शक्तिपीठहरू

बिदाको घुमघामलाई दशैंकै माहौलसँग जोड्ने हो भने विभिन्न शक्तिपीठहरू पनि महत्वपूर्ण स्थानका रुपमा लिइन्छ । नवरात्रिभर हरेक शक्तिपीठमा मेला लाग्छ । सपरिवार ती शक्तिपीठमा पुगेर पूजाआजा गर्न सकियो भने दशैं अर्थपूर्ण र दशैंजस्तै हुनेछ ।

गोरखाको मनकामना, नवलपरासीको मौलाकालिका, डोटीको शैलेश्वरी, डडेलधुराको त्रिपुरासुन्दरी, सल्यानको सल्यानकोटदेवी, बागलुङ कालिका, काभ्रेको पलाञ्चोक भगवती, दक्षिणकाली, ताप्लेजुङको पाथिभरा, सप्तरीको छिन्नमस्ताजस्ता शक्तिपीठको यात्रामा निस्कन सकिन्छ ।

प्रत्येक जिल्लामा रहेका भगवतीका मठमन्दिरमा नवरात्रिभर विशेष पूजा लाग्ने भएकाले टाढाका गन्तव्यमा जान नभ्याए पनि घर नजिकैको भगवती मन्दिर घुमघाम गरेर दशैं बिदालाई उपयोगी बनाउन सकिन्छ ।

प्रकाशित मिति: २४ आश्विन २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्