रेमिट्यान्स र दशैं


 


सुवास ज्ञवाली
प्रमुख कार्यकारी अधिकृत
सिटी एक्स्प्रेस मनी ट्रान्सफर

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार सामान्य अवस्थामा प्रत्येक महिना एक खर्ब १५/२० अर्ब रेमिट्यान्स भित्रिनेमा दशैं/तिहारजस्तो चाडपर्वको बेला प्रत्येक महिना एक खर्ब ३७ अर्बभन्दा बढी रेमिट्यान्स आइरहेको हुन्छ ।
……………………………..

परिचय
एक स्थानबाट अर्को स्थानमा कुनै पनि प्रयोजनका लागि रुपैयाँ/दाम पठाउने कार्यलाई रेमिट्यान्स (विप्रेषण) भनिन्छ । घरभन्दा केही बाहिर रहेकर विभिन्न पेसामा कार्यरत व्यक्ति आयआर्जन गरेर आफ्नो देश/परिवारलाई पठाइने पुँजी, नगद वा वित्त नै रेमिट्यान्स हो ।

अर्को शब्दमा भन्दा खासगरी विदेशमा रहेका कामदार र व्यवसायीले कमाएर आफ्नो परिवारलाई पठाउने पैसा नै रेमिट्यान्स हो । त्यस्तै बैंक, वित्तीय संस्था वा अनुमति प्राप्त मनी ट्रान्सफर एजेन्सीमार्फत् एक देशबाट अर्को देशमा रकम ट्रान्सफर गरेर पठाउने कार्यलाई रकमान्तर भनिन्छ ।

यस्तो रकम औपचारिक माध्यम अर्थात् बैंक तथा वित्तीय संस्थामार्फत् पठाएमा त्यसलाई बैंक ट्रान्सफर भनिन्छ । कुनै एक देशका नागरिक अर्को देशमा गई आर्जन गरेको रकम बैंक, वित्तीय संस्था वा अनुमति प्राप्त मनी ट्रान्सफर एजेन्सीहरूमार्फत् स्वदेशमा सहज रुपमा यही माध्यमबाट पठाउन सक्छन् ।

रेमिट्यान्स गर्दा केही सेवा शुल्क तिर्नुपर्ने भए पनि बैंक, वित्तीय संस्था वा अनुमति प्राप्त मनी ट्रान्सफर एजेन्सीहरू (रेमिट्यान्स कम्पनी) बाट रकमान्तर गर्ने तरिका नै सबैभन्दा बढी सुरक्षित, भरपर्दो छ । यो नै पैसा पठाउने र पाउने औपचारिक अनि सुरक्षित तरिका पनि हो ।

नेपालमा रेमिट्यान्सको अवस्था
अधिकांश विकासोन्मुख मुलुकहरूको आम्दानीको प्रमुख स्रोत रेमिट्यान्स हो भन्दा फरक पर्दैन । त्यसो त नेपालको अर्थतन्त्र रेमिट्यान्सले धानेको छ भन्दा फरक पर्दैन । नेपाली अर्थतन्त्रको ठूलो हिस्सा रेमिट्यान्सले ओगट्छ । नेपालको व्यापारघाटाको सन्तुलन केही मात्रामा भए पनि रेमिट्यान्सले गर्दै आएको छ ।

नेपालको रेमिट्यान्सको अवस्था हेर्दा गत आर्थिक वर्षको अन्त्यसम्ममा १४ खर्ब ४५ अर्ब रकम देशमा भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार विगतका वर्षको भन्दा यो आवमा २२ प्रतिशतले रेमिट्यान्स बढेको हो ।

नेपालमा सबैभन्दा बढी खाडी मुलुकहरू साउदी अरेबिया, दुबई, कतार, कुवेतलगायत देशबाट रेमिट्यान्स भित्रिने गरेको छ । पछिल्ला वर्षहरूमा युरोप, अमेरिका, अष्ट्रेलिया, जापान, कोरियाबाट पनि उल्लेख्यमात्रामा रेमिट्यान्स भित्रिएको छ ।

पहिले पहिले नेपालबाट कमाइ गर्न विदेश जानेको संख्या कम थियो । उतिबेला पैसा कमाउने उद्देश्यले जाने भनेको खाडी मुलुक नै थिए । पछिल्लो दशकमा रोजगारीमात्र होइन, अध्ययनका लागि पनि विदेशिने चलन व्यापक भएको छ । र, यसमा केही परिवर्तन आएको छ ।

अब विदेशी क्रम कामका लागि मात्र नभएर पढ्न पनि धेरै नेपाली युवा विदेशी भूमि तय गरिरहेका छन् । खाडी मुलुकसँगै युरोपका विभिन्न देश, अमेरिका, अष्ट्रेलिया, जापान, कोरियामा पनि नेपालीको उपस्थिति बाक्लो छ । त्यसले नेपाल भित्रिने रेमिट्यान्समा पनि प्रभाव पारेको देखिन्छ ।

विदेशी भूमिमा दुःख गरेर कमाएको पैसा सुरक्षित तरिकाले पठाउन नेपाल राष्ट्र बैंकले विभिन्न ५८ वटा रेमिट्यान्स कम्पनीलाई अनुमति दिएको थियो । तीमध्ये २३ कम्पनी खारेज भएका छन् । यतिबेला ३५ वटा रेमिट्यान्स कम्पनीले मात्र यो काम गरिरहेका छन् ।

यसरी औपचारिक प्रणालीबाट रेमिट्यान्स कारोबार गर्दा जसको नाममा पठाएको हो, उसैले सुरक्षित रूपमा पैसा प्राप्त गर्छ । यी माध्ययमबाट पैसा पठाउँदा संस्थामा बचत गर्न सहज हुन्छ । साथै बैंक र वित्तीय संस्थाबाट विप्रेषण कारोबार गर्दा तिनीहरूबाट अन्य सुविधा पनि लिन सकिन्छ ।

यी संस्थाबाट वित्तीय कारोबार गर्दा जहिल्यै रसिद लिनुपर्छ, यसले हिसाब राख्न मद्दत गर्दछ । रसिदमात्रै कानुनी रूपमा आय प्राप्त गरेको प्रमाण हो । सम्पत्ति, घरजग्गा आदि जोड्दा आयस्रोतको रूपमा यस रसिदलाई देखाउन सकिन्छ ।

वैदेशिक रोजगारीबाट फर्केपछि सहुलियतपूर्ण कर्जा लिन औपचारिक माध्यमबाट विप्रेषण कारोबार गरेको हुनुपर्छ ।
यी कारणले गर्दा पनि पछिल्लो समय बैंक तथा रेमिट्यान्स कम्पनीबाट रेमिट्यान्स भित्रने क्रम बढेको हो ।

दशैं र रेमिट्यान्सको सम्बन्ध

दशैं भन्नेबित्तिकै सबैभन्दा धेरै कारोबार हुने समय हो । नेपालीहरूको महान् पर्व भएकाले अरू बेलाभन्दा यो समयमा आर्थिक कारोबार बढी हुन्छ । दशैंमा घरायसी खर्चदेखि धनसम्पत्ति जोड्ने तथा व्यवसाय सुरु गर्ने साइत पनि यसैलाई बनाइन्छ । त्यसले गर्दा यो समय रेमिट्यान्सका लागि पनि उर्वर मानिन्छ ।

विदेशमा रहने परिवारका सदस्यले यो समय घरका लागि रकम पठाउँछन् । नियमित पठाउनेको त आइरहेकै हुन्छ । वर्षमा एक/दुईपटक पठाउनेले पनि यही समयलाई उपयुक्त ठान्छन् । त्यसैले दशैंको समयमा धेरै रेमिट्यान्स भित्रिने गरेको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार सामान्य अवस्थामा प्रत्येक महिना एक खर्ब १५/२० अर्बको हाराहारीमा रेमिट्यान्स भित्रिएको देखिन्छ । तर दशैं/तिहारजस्तो मुख्य चाडपर्वको बेला प्रत्येक महिना एक खर्ब ३७ अर्बभन्दा बढी आएको देखाएको छ ।

यसरी हेर्दा दशैं तिहारको समयमा मासिक २५ देखि ३० अर्बभन्दा बढी रेमिट्यान्स भित्रने गरेको देखिन्छ ।
यसरी हेर्दा दशैंसँग रेमिट्यान्सको सम्बन्ध गाढा देखिन्छ । किनभने अहिले धेरै परिवारका सदस्य विदेशमा छन् ।

विदेशबाट पैसा नपठाउने हो भने दशैं÷तिहारलगायत चाडपर्व मनाउन ऋण खोज्नु पर्ने अवस्था हुन्छ । त्यसैले विदेशमा हुनेहरूले नै साथीभाइसँग सापटी लिएर भए पनि घरमा पैसा पठाउने गरेको उदाहरणहरू पाइन्छ ।

अर्कातर्फ रेमिट्यान्स आएपछि आफन्तले खर्च गर्दा बजारमा कारोबार बढी हुन्छ । रेमिट्यान्सकै कारण घरायसीका साथै विद्युतीय सामग्री र विलासी सामानको कारोबार बढेको पाइन्छ । रेमिट्यान्सले एउटा परिवारमात्र चलेको छैन, समग्र बजारको कारोबार नै चलायमान बनाएको छ ।

रेमिट्यान्स कम्पनीका लागि दशैं सबैभन्दा व्यस्त समय हो । अरु बेलाभन्दा बढी कारोबार हुने भएकाले यो समय व्यस्त हुन्छ । प्रायः कम्पनीहरूमा दैनिक ८/१० हजार वटा कारोबार हुने भए पनि दशैंको बेला झण्डै दोब्बर हुने हुँदा कर्मचारीहरू उत्तिकै व्यस्त हुन्छन् ।

अरु धेरै कार्यालयहरू घटस्थापनाकै दिनदेखि बिदा गरिन्छ । तर रेमिट्यान्स कम्पनीहरूको व्यस्तता फूलपाती पछिसम्म नै रहन्छ ।

दशैंमा अफरै अफर
रेमिट्यान्स कम्पनीहरूले पनि दशैंको समयलाई विशेष बनाउँछन् । यही बेला कम्पनीहरूले विभिन्न अफरसमेत ल्याउँछन् । रेमिट्यान्समा सक्रिय कम्पनीहरूले आफ्नोबाट कारोबार गराउन वा सेवाग्राहीलाई आकर्षित गर्न यस्ता अफर ल्याउने गरेका हुन् ।

दैनिक रूपमा नगद दिनेदेखि साप्ताहिक योजना र बम्पर योजना बनाएर विभिन्न पुरस्कार र आकर्षक स्किम कम्पनीहरूले ल्याएको पाइन्छ । दैनिकमा नगद, साप्ताहिक रूपमा टेलिभिजन, मोवाइल फोन र बम्पर योजनामा स्कुटर, मोटरसाइकलजस्ता आकर्षक उपहार राखेर रेमिट्यान्स कम्पनीले आफ्नोमार्फत कारोबार गर्न आकर्षण गरिरहेको पाइन्छ ।

रेमिट्यान्सको उपयोग

नेपाल भित्रिने धेरैजसो रेमिट्यान्स घर खर्चका लागि दैनिक उपभोग्य सामग्री, लत्ताकपडा, विद्युतीय सामग्रीजस्तै मोवाइल, ल्यापटप, टेलिभिजन, रेफ्रिजेरेटर, स्कुटर, मोटरसाइकल खरिदमा खर्च हुन्छ । केही केहीले मात्र व्यवसायमा लगाउने, केहीले घरजग्गा खरिद गर्ने गरेको पाइन्छ । स–सानो रकम आउँदा धेरैजसो घरायसी खर्चमै सकिने गर्छ ।

वैदेशिक रोजगारमा गएर फर्किएकाले धेरै ठाउँमा उद्योग स्थापनादेखि कृषि फार्म सञ्चालन गरेका छन् । केही प्रतिशतमात्र व्यापार व्यवसायमा लागेको देखिन्छ । यसरी हेर्दा रेमिट्यान्सबाट आएको रकम विभिन्न सामग्री खरिद गर्दा फेरि विदेशिने गर्छ ।

रेमिट्यान्स पठाउँदा खास ध्यान दिनुपर्ने कुरा

औपचारिक माध्यमबाट रेमिट्यान्स पठाउँदा यो सुरक्षित हुन्छ । त्यसैले जहिले पनि रेमिट्यान्स औपचारिक माध्यम बैंक या मान्यता प्राप्त रेमिट्यान्स कम्पनीमार्फत पठाउनुपर्छ । अनौपचारिक माध्यमबाट रेमिट्यान्स पठाउँदा सुरक्षित हुँदैन । त्यसैले रेमिट्यान्स पठाउँदा या उपयोग गर्दा निम्न कुरामा ध्यान दिनुपर्छ ;

– औपचारिक बैंक या रेमिट्यान्स कम्पनीहरूबाट मात्र पठाउने ।
– रेमिट्यान्स गर्दा लाग्ने शुल्कबारे पहिल्यै सोधपुछ गर्ने ।
– रेमिट्यान्सको रकम सकेसम्म उत्पादनमूलक काममा लगाउने ।
– सकेसम्म बिहे, ब्रतबन्ध, जन्मदिन, पास्नीजस्ता अनुत्पादक कार्यमा कम खर्च गर्ने ।
– रेमिट्यान्सको आम्दानीबाट दैनिक घर खर्च चलाउनुपर्ने अवस्था छ भने पनि सकेसम्म कम खर्च गर्ने र बचत गर्ने ।

प्रकाशित मिति: २४ आश्विन २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्