अटो व्यवसाय र दशैं


 


शावन्त जङ्ग सिजापती
महाप्रबन्धक, सिप्रदी

देशको अर्थतन्त्र चलायमान भएका बेला अटो व्यवसाय पनि चलायमान हुन्छ । त्यस कारण दशैं, तिहार, छठलगायत चाडपर्वसँग अटो व्यवसायको सम्बन्ध गाँसिन पुग्छ ।
……………………

पृष्ठभूमि
विकसित देश र विकासशील देशहरूको सन्दर्भलाई हेर्दा अटो व्यवसायको स्वरुप फरक–फरक पाइन्छ । विकसित देशहरूलाई हेर्ने हो भने त्यहाँको सार्वजनिक यातायात व्यवस्थित र सुविधा सम्पन्न हुन्छ । त्यस्ता देशमा धेरैजसो मानिस सार्वजनिक यातायात नै प्रयोग गर्दछन् ।

हाम्रो जस्ता मुलुकमा सार्वजनिक यातायातमा पर्याप्त सुविधा नहुँदा निजी सवारी प्रयोग गर्ने प्रचलन बढी छ । सडक यातायातमा सुविधा छैन भने हवाई सेवा अति महँगो छ ।

दोस्रो विश्वयुद्धपछि पश्चिमा मुलुकहरूमा आर्थिक क्रान्ति भयो । त्यसले सवारीको उत्पादन र प्रयोग बढाएको पाइन्छ । पश्चिमा मुलुकसँगै भारतमा पनि सन् १९७०/८० को दशकमा गाडी बनाउने फ्याक्ट्रीहरू बनेको पाइन्छ । भारतमा सवारी साधनको उत्पादन सुरु भएपछि नेपालमा पनि निजी प्रयोगका लागि सवारी आयात बढ्न थाल्यो ।

जब सर्वसाधारणले गाडी खरिद गर्न थाले तब सुरु भयो, नेपालमा अटो व्यवसाय । त्यसअघि नेपालका शासक वर्गले मात्र तेस्रो मुलुकबाट गाडी आयात गरेर प्रयोग गर्दथे ।

नेपालमा अटो व्यवसाय

जब प्रजातन्त्रको स्थापना भयो तब नेपालमा अटोले व्यवसायको रूप लियो । पछिल्लो समय नेपाली व्यवसायीले यस क्षेत्रमा एक खर्बभन्दा बढी लगानी गरिसकेका छन् । भारतमा उत्पादन सवारीको बाहुल्यता बजारमा देखिए पनि चीन र तेस्रो मुलुकमा उत्पादित सस्ता–महँगा दुवै खाले सवारी साधन नेपाली बजारमा उपलब्ध छन् ।

नाडाको तथ्याङ्कअनुसार अटोमोवाइल्सको क्षेत्रमा एक लाखभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । यसबाट वार्षिक रूपमा ९० अर्ब रुपैयाँ राजस्व जम्मा हुने गरेको छ । देशका हरेक शहरमा विभिन्न कम्पनीका शोरुम र सर्भिस सेन्टर सञ्चालनमा छन् । अझ सर्भिस सेन्टरहरू त गाउँगाउँसम्म पुगेका छन् ।

अप्रत्यक्ष रूपमा हेर्ने हो भने ग्यारेज, बीमा कम्पनी र वित्तीय संस्थामार्फत पनि आर्थिक कारोबार हुुने गरेको छ । यस्तै विज्ञापन बजारमा पनि अटो कम्पनीहरूको ठूलो योगदान छ । यसरी हेर्दा अटो व्यवसाय सवारी बिक्री गर्ने र मानिसको निजी सवारी प्रयोग गर्ने चाहना पूरा गर्नेमात्र नभएर राज्यको आर्थिक मेरुदण्डको एउटा खम्बा बनेको छ ।

दशैं र अटो व्यवसायको सम्बन्ध

स्वभाविक रूपमा दशैंमा अरु बेलाभन्दा बढी आर्थिक गतिविधि हुन्छ । त्यसले अटो व्यवसायमा पनि केही मात्रामा प्रभाव पार्छ । एउटा सामान्य जागिर खाने मान्छेले दशैंमा बोनस पाउँछ । उसले त्यो पैसाले गरगहना, लुगाफाटो किन्छ ।

आफ्नो परिवारलाई रेष्टुरेन्टमा खान लैजान्छ । अनि त्यसले आर्थिक अवस्था राम्रो भएपछि गहना र लुगा पसलेले होस् या रेष्टुरेन्ट सञ्चालकले गाडी किन्छन् ।

तसर्थ अटो व्यवसाय बजारको आर्थिक गतिविधिसँग अन्तर सम्बन्धित छ । देशको अर्थतन्त्र चलायमान भएका बेला यो व्यवसाय पनि चलायमान हुन्छ । त्यस कारण दशैं, तिहार, छठलगायत चाडपर्वसँग अटो व्यवसायको सम्बन्ध गाँसिन पुग्छ ।

वर्षभरिमा निजी प्रयोजनका लागि जति गाडी बिक्री हुन्छ । त्यसको ५० प्रतिशत दशैं, तिहारलगायत यो दुई महिनाको अवधिमा व्यापार हुन्छ ।

चाडपर्वलाई लक्षित गरेर विभिन्न अटो व्यवसायी र कम्पनीहरूले ग्राहकलाई आफूतर्फ आकर्षित गर्न विभिन्न किसिमका स्किम र अफर ल्याउँछन् ।

सायद यही कारणले पनि दशैंको बेला किन्दा छुट पाइन्छ भनेर ग्राहक चाडपर्वको अफर पर्खेर बसेका हुन्छन् । यद्यपि अहिले यो प्रचलन अलिक कम हुँदै गएको छ । तर पनि सबैजसो कम्पनीले दशैं विशेषका लागि पूरा तयारी गरेका छन् ।

विभिन्न स्किमदेखि छुटको व्यवस्था गरी कम्पनीले ग्राहकलाई आफ्नोतर्फ आकर्षण गरिरहेका छन् । यो स्वभाविक पनि हो ।

ईभीको बढ्दो प्रयोग

पछिल्लो समय इलेक्ट्रिकल भेइकल (ईभी) मा ग्राहकको आकर्षण बढ्दो छ । नेपाली अर्थतन्त्रको अवस्थालाई हेर्दा ईभी उपयुक्त पनि छ । तर आवश्यक पूर्वाधार र सरकारी नीतिका कारण यसलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन भने अझै सकिएको छैन ।

गत वर्षदेखि मात्रै नेपाली बजारमा ईभीको माग अत्यधिक बढेको हो । इन्धनवाला २० प्रतिशत र ईभी गाडी ८० प्रतिशत बिक्री भइरहेको अटो तथ्यांकले देखाएको छ । बजारमा माग पनि त्यसैअनुसार छ । अझ यसलाई व्यवस्थित बनाउन सरकारले चार्जिङ स्टेसनहरू निर्माण गर्नु पर्नेछ ।

गाडी किन्दा के-के हेरेर किन्ने ?
अहिले गाडी किन्दा त्यसको आवरण र विज्ञापन हेरेर किन्ने प्रचलन बढ्दो छ । एउटा गाडी किन्दा ४०÷५० लाख रुपैयाँ लगानी गर्छौ । त्यो गाडीसँगको हाम्रो सम्बन्ध ७/८ वर्ष हुन्छ ।

त्यति लगानी गरेको सवारी कति आरामदायी र सुरक्षित छ ? पार्टस् र सर्भिस कति सहज छ ? त्यो ७/८ वर्ष कम्पनी टिक्छ कि टिक्दैन ? सबैभन्दा महत्वपूर्ण कुरा हुन् यी । त्यसैले गर्दा गाडी किन्दा निम्नअनुसारका आधारभूत कुरामा ध्यान दिनु आवश्यक छ ।

सुरक्षित र आरामदायी
दुईपाङ्ग्रे होस् या चारपाङ्ग्रे साधन चलाउँदा सजिलो, आरामदायी र सुरक्षित हुन जरुरी छ । गाडीसँग मानिसको स्वास्थ्य र जीवन जोडिएकोले आरामदायी र सुरक्षित हुनुपर्दछ ।

अहिले हामी कहाँ गाडी किन्दा त्यो कस्तो सामग्रीले बनेको हो ? कत्तिको सुरक्षित छ ? क्र्यास टेस्टमा कति सफल छ ? यी सबै कुरा हेरेर किन्नु पर्छ । सामान्यतया हामीकहाँ यसतर्फ त्यति ध्यान दिएको पाइँदैन ।

सर्भिस र पार्टस्को उपलब्धता

सवारी साधन छनोट गर्दा त्यसको पार्टस् बजारमा सहज रूपमा उपलब्ध हुन्छ कि हुँदैन ? सभिर्स गर्न कत्तिको सहज छ ? आफू पुग्नु पर्ने र जाने ठाउँमा त्यसको सर्भिस पाइन्छ कि पाइँदैन ? गाडीका पार्टस्हरू सबै ठाउँमा उपलब्ध छन् कि छैनन् ? वा बिग्रेको खण्डमा बनाउन सबै स्थानमा त्यस ब्राण्डको सभिर्सको पहुँच छ/छैन भन्ने कुरा याद गर्नु जरुरी छ ।

किनकि तपाईंले सवारी किनिसकेपछि सधैं एकै स्थानमा बस्नुहुन्छ भन्ने छैन । कतिपय स्थानमा तपाईंले किन्नु भएको ब्राण्डको सर्भिस सेन्टर नहुने तथा पार्टपुर्जा नपाइने समस्या हुन्छ । जसले गर्दा आफूले चाहेको बेला सवारी मर्मत गर्न सकिँदैन ।

ब्राण्ड

सवारी किन्दा त्यसको ब्राण्डले ठूलो महत्व राख्छ । चलेको र राम्रो ब्राण्डको सवारी किन्नु भयो भने जोखिम कम हुन सक्छ । त्यसका नेटवर्क देशमा कस्तो छ ? अन्तर्राष्ट्रिय बजारमा कत्तिको स्थान लिएको छ । त्यसैले सवारी किन्नुभन्दा अगाडि कुन कम्पनीको किन्ने हो त्यस कम्पनीको अवस्था, उत्पादनको रिभ्यू आदि बारेमा जानकारी राख्दा राम्रो हुन्छ ।

अटो व्यवसायका समस्या

नेपालमा अटो मोवाइल्सको व्यावसायिक सुरुवात भएको करिब ३० वर्ष पुग्न लाग्यो । तर यस क्षेत्रका समस्या जस्ताको त्यस्तै छ । नीतिगत समस्यादेखि पूर्वाधार विकाससम्मका नेपालको अटो क्षेत्रले झेल्दै आएको छ ।

नीतिगत समस्या

राजनीतिक अस्थिरताका कारण हरेक सरकार परिवर्तन हुँदैपिच्छे नीतिहरू परिवर्तन हुन्छन् । त्यस कारण ढुक्क भएर लगानी गर्ने वातावरण छैन । नीतिहरू यति समय परिवर्तन हुँदैनन् भन्ने भयो भने त्यसअनुसार लगानी गर्न हुन्छ ।

ठूलो मात्रामा लगानी गर्नुपर्ने हुँदा राज्यले लगानी सुनिश्चित गर्ने वातावरण निर्माणमा ध्यान दिनुपर्छ तर यसमा खासै चासो दिएको पाइँदैन । विकट क्षेत्रमा चल्ने र सुगममा चल्ने सवारीलाई समान व्यवहार छ । यो न्यायोचित हुँदैहोइन ।

पूर्वाधार विकास

सवारीका लागि आवश्यक बाटो र पूर्वाधारको समस्या छ । एक त देशका हरेक स्थानीय तहमा पुग्न पर्याप्त मात्रामा बाटो निर्माण भएको छैन । भएका बाटाहरू पनि मर्मत नहुँदा समस्या छ ।

अहिले ईभीलाई राज्यले प्राथमिकता दिएको छ । तर त्यसको लागि चार्जिङ स्टेसनहरू पर्याप्त छैनन् । नेपाल विद्युत् प्राधिकरणले बनाएका त्यस्ता चार्जिङ स्टेसनहरू मर्मत सम्भार नहुँदा केही ठाउँमा काम नलाग्ने भएका छन् ।

निजी क्षेत्रले पनि त्यस्ता चार्जिङ स्टेसन निर्माण गरे पनि अझै पर्याप्त छैन । मुख्यत राज्यले बाटोघाटो पुल निर्माण र मर्मतमा ध्यान पु¥याउन सकेको छैन ।

अन्त्यमा,
तपाईं सवारी किन्दै हुनुहुन्छ भने सुरक्षा, सेफ्टी र सर्भिस तथा पार्टस्को उपलब्धता हेर्नुहोला । देशमा तपाईंले किन्न लागेको सवारीको नेटवर्क कस्तो छ त्यसलाई विचार गरेर किन्नुभयो भने पछि समस्या आउँदैन ।

तपाईंले एकपटक लगानी गरेपछि ८/१० वर्ष ढुक्लले चलाउन सक्नुहोस् । दशैं, तिहारलगायत चाडपर्वको यही शुभकामना छ ।

प्रकाशित मिति: २४ आश्विन २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्