दशैं, खानपान र स्वास्थ्य
डा. अरुणा उपे्रती
जनस्वास्थ्यविद्
बेलाबेलामा बाहिरको खानेकुरा घरमै मगाएर खाने चलन छ । पकाउन अल्छी लाग्यो भने बाहिरको खानेकुरा मगाएर खाने चलन पनि फस्टाउँदो छ । त्यस्ता खानेकुरा हेर्नमा राम्रा हुन्छन् तर धेरै चिल्लो र विभिन्न प्रकारका मसलाले स्वास्थ्यका लागि उपयुक्त हुँदैनन् ।
……………………………..
चाडपर्व र खानपानको सम्बन्ध
नेपाल संस्कृतिको धनी मुलुक हो । यहाँ सांस्कृतिक विविधता पाइन्छ । यही विविधताभित्र विभिन्न जाति जनजातिले मनाउने चाडपर्व पनि पर्दछन् । वैशाखदेखि चैतसम्म मनाइने धेरै चाडपर्वहरू छन् । ती चाडपर्वले हाम्रो जीवनमा सकारात्मकता ल्याउँछन् ।
यस्ता चाडपर्वमा एकअर्कासँग भेटघाट गर्ने, रमाइलो गर्ने र आपसमा खुसी साटासाँट गर्ने चलन छ । यो चलनले हाम्रो संस्कृतिलाई रक्षा गर्ने कार्यमा मद्दत गरिरहेको छ । यसका साथै चाडपर्वमा चाहिँ विशेष किसिमको खानेकुराहरू खाने चलन छ ।
अहिले दशैं आउन लाग्यो दशैंमा विभिन्न परिकारका साथै मांसाहारीले मासु खाने चलन छ । पहिला पनि मासु खाने चलन थियो । अहिले यो एकदम बढेर गएको छ ।
पहिला सायद हामी नेपालीसँग धेरै पैसा हुँदैनथ्यो होला । त्यसैले दशैंलगायत चाडपर्वमा मात्र मीठोमसिनो खाने चलन थियो होला । त्यसैले ‘दशैं आयो खाउँला पिउँला’ भन्ने चलन थियो । हामीसँग पैसा भइसकेपछि अहिले मासु खानलाई दशैं नै कुर्नु पर्दैन । तैपनि दशैं तिहारको बेलामा एकदम बढी मासुको प्रयोग गरिन्छ ।
योबेला घरमा पाहुना बोलाइन्छ । आफू पनि पाहुना गइन्छ । मासुभात र विभिन्न परिकार खाइन्छ । यो सकारात्मक कुरा हो । तर एउटा कुरा के छ भने विभिन्न चाडपर्वहरूमा खाना खाने नाममा एकदमै बढी खाना खाने, धेरै चिल्लो हालेको मसलेदार खाना खाने र आफ्नो पेटले सक्नेभन्दा पनि बढी खाने गरिन्छ । त्यसले स्वास्थ्यमा समस्या पार्छ ।
यिनै खानाका कारण अहिले नेपालीहरू विभिन्न किसिमका नसर्ने रोगका सिकार भएका छन् । उच्च रक्तचाप र मधुमेहका समस्या बढिरहेका छन् । पछिल्लो एउटा तथ्यांकले के भन्छ भने पैंतीस प्रतिशत नेपाली महिला मोटोपनको सिकार भएका छन् ।
मोटोपनको सिकार हुनुको कारण अस्वस्थ जीवनशैली र अस्वस्थकर खानपान नै हो । त्यसले यो दशैं तिहारमा जिब्रोको स्वादलाई रोकेर सन्तुलित र स्वस्थकर खानेकुरा खानुपर्छ । खानेकुरा त खाइन्छ नै चाडवाड हो रमाइलोका लागि पनि खाइन्छ ।
तर खाने भन्दैमा एकदमै धेरै तेल हालेको, धेरै मसला हालेको मासुभात, रोटी, विभिन्न किसिमका मिठाइ र कोल्डड्रिंसहरू खाइन्छ । यिनीहरूले स्वास्थ्यमा समस्या पार्छ ।
चाडपर्वमा स्वादका लागि खाइने यस्ता प्रकारका अस्वस्थकर खानाले मानिसमा मधुमेह, उच्च रक्तचाप, मुटुको रोग देखा पर्दछ । जसले गर्दा मानिसहरू डाक्टरकोमा धाउनु पर्ने क्रम बढ्छ । त्यसले गर्दा चाडपर्वमा रमाइलो गर्ने हो, भेटघाट गर्ने हो तर खाने कुरामा ध्यान दिनुपर्छ ।
खानाचाहिँ सन्तुलित रूपमा खानुपर्छ । आफ्नो जिब्रोलाई होइन स्वास्थ्यलाई ध्यान दिएर खानेकुरा खानुपर्छ । आजकल धेरैजसोका घरमा कोल्डड्रिंस, बट्टाका जुसहरू, प्याकेटका खानेकुराहरू खाने चलन छ । त्यसमा चिनीको मात्रा, मसलाको मात्रा एकदमै ज्यादा हुन्छ ।
जसले हाम्रो स्वास्थ्यमा असर गर्दछ । यस्ता खानेकुराका विज्ञापन धेरै आउँछ । तिनै विज्ञापनले हामी, अझ बढी बच्चाहरू यस्ता किसिमका खानेकुरातिर आकर्षशित हुन्छन् । अभिभावकले पनि बच्चालाई त्यस्ता प्रकारका पेय र खानेकुरा दिन्छन् । यसले बच्चाको स्वास्थ्यमा बचपनदेखि नै नराम्रो असर पर्छ ।
हाम्रो संस्कृति र परम्परालाई हेर्ने हो भने उतिबेला खानपानको शैली स्वस्थ्यकर थियो । हाम्रा स्वस्थ्यकर खानेकुराहरू कत्ति छन् नि ! हाम्रा चाडपर्वहरू वैशाखदेखि सुरु ग¥यौं भने वैशाखमा अक्षय तृतीया छ । अक्षय तृतीयामा सातु र सर्वत खाने चलन छ ।
त्यो स्वास्थ्यका हिसाबले एकदमै राम्रो हो किनकि त्यसले शारीरिक स्वस्थता दिन्छ अनि जल विनियोजन हुन दिँदैन । त्यसपछि हाम्रो नेवारी समुदायले मनाउने योमरी पूर्णिमा छ । यसमा चामलको पिठोमा भित्रपट्टि चाकु हालेर खाने चलन छ, यो पनि एकदमै राम्रो हो ।
त्यस्तै साउन १५ मा खिर, रक्षाबन्धनमा क्वाटी, पुस १५ मा खिंचडी, माघे संक्रान्तिमा चाकु, तरुल र तिलका लड्डु खाने चलन छ । यी खानेकुरा स्वास्थ्यका हिसाबले एकदमै स्वस्थ्यकर छन् । तर अहिले हामी यस्तो प्रचलित खानेकुरा छाडेर जङ्कफुड (पत्रुखाना) बढी खान्छौं । यसको बारेमा सबै सचेत हुनुपर्ने बेला आएको छ ।
कस्ता खानेकुरा खाने ?
स्वस्थ्यकर खाना तयार गर्ने विचार ग¥यो भने एकदमै सजिलो छ, केही समस्या छैन । हामीले मासु पकाउँदा होस् या विभिन्न तरकारी पकाउँदा थोरै तेल, थोरै नुन हाल्ने अनि जिरा मसला पनि सकेसम्म घरमै पिसेर हाल्ने गरियो भने त्यसको स्वाद पनि हुन्छ र स्वस्थ्यकर हुन्छ ।
नुन बढी भयो भने जसलाई मृगौलाको समस्या छ, जसलाई उच्च रक्तचाप छ, उसलाई त्यस्ता खानेकुराले समस्या पार्छ ।
हाम्रो ५/६ फिटको शरीरलाई ४ इन्चको जिब्रोले कन्ट्रोल गर्छ । हामीले यो ४ इन्चको जिब्रोलाई मनले कन्ट्रोल गर्न सकियो भने शारीरिक रूपमा स्वस्थ्य रहन सकिन्छ ।
हामी लुगामा फोहोर लाग्यो भने अथवा मोबाइलमा फोहोर लाग्यो भने वा गाडीमा फोहर लाग्यो भने राम्रोसँग सफा गर्न लैजान्छौँ । त्यस्तै अस्वस्थ्यकर धेरै चिल्लो, धेरै मसला भएका खानेकुराले हाम्रो शरीरभित्र हाम्रो कलेजो आन्द्रालगायत शरीरका अङ्गहरूमा यति धेरै किसिमका समस्याहरू पर्न सक्छन् ।
हामी यसलाई वास्तै गर्दैनौँ, त्यसै कारण हामीमा स्वास्थ्यका समस्या बढेका छन् । बाहिरको लुगा तथा अरु सामानको वास्ता गर्छौं, तर हामीले भित्रको अङ्गको कम वास्ता गरेको पाइन्छ ।
लुगा पुरानो लगाए पनि खासै फरक पर्दैन र हाम्रा अङ्गहरू पुराना भए समस्या आउँछ । उमेरसँगै अङ्गहरू पुरानो त हुन्छ, तर बिरामी भयो भने समस्या पर्न सक्छ । समस्या नआओस भन्नका लागि चाडपर्वमा खानेकुरामा ध्यान दिनुपर्छ ।
स्वास्थ्यमा भान्सेको बढी हात हुन्छ । पहिला महिलाहरूले मात्रै पकाउने चलन थियो । अहिले पुरुषले पनि पकाउँछन् । कतिपय पुरुषले बढी मीठो पकाउँछन् भनेर पनि भनिन्छ । अनि अब चाडपर्वमा घर बाहिर रेष्टुरेन्टमा खाना खाने चलन दिनानुदिन बढ्दो छ ।
रेस्टुरेन्टमा खाना खाए पनि सलादहरू बढी खाने र चिल्लो, मसलेदार खानेकुरा कम खानु पर्छ । हामीले यस्तो किसिमले चाडपर्वलाई रमाइलो गर्नुपर्छ, ताकि चाडपर्व सकिएपछि बिरामी परेर काममा जान नसक्ने अवस्था नआओस् । चाडपर्वको बेलामा स्वस्थ जीवनशैलीलाई ध्यानमा राख्ने हो भने हिँड्नु पर्छ ।
काठमाडौंमा हिंड्ने ठाउँ धेरै छन् । यसले पनि स्वस्थ जीवनशैली अपनाउन मद्दत गर्छ । एकै ठाउँमा बसेर काम गर्ने मानिसका लागि हिंड्नु उपयुक्त हुन्छ । हिंड्दा पनि स्वस्थकर खानेकुरा खाने । चिउरा, बदाम, उसिनेको आलुजस्ता स्वस्थ्यकर खानेकुरा खाने ।
हाम्रो कस्तो चलन बस्यो भने रेष्टुरेन्टमा होस् या भोज तथा पार्टीहरूमा पहिला स्न्याक्स खान्छौँ । ती स्न्याक्सहरू चिल्ला र मसलेदार हुन्छन् । भोजको सुरुमै हामी त्यस्ता खानेकुरा खान्छौँ त्यसैले पेट भरिन्छ ।
अनि अन्तिममा मासुभात खाने चलन छ यसलाई रोक्न सकियो भने स्वस्थ भइन्छ । हामीले आफ्नो जिब्रोलाई कन्ट्रोल गर्नुपर्छ । मस्तिष्कलाई कन्ट्रोल गर्नुपर्छ ताकि चाडपर्व सिद्धिएपछि स्वस्थ भएर काममा जान सकौँ ।
मांसाहारीले अझ बढी ध्यान दिनुपर्छ
मासु खानेले एकदमै धेरै मसला हालेर खानु हुँदैन किनभने यसले समस्या पार्छ । अर्को के विचार गर्नुपर्छ भने मासु नखाइकन शरीरमा प्रोटिन हुँदैन भन्ने कुरा पनि होइन । हाम्रा यति धेरै प्रोटिनयुक्त तरकारीहरू छन् । जसमा पर्याप्त मात्रामा शरीरलाई चाहिने प्रोटिन पाइन्छ ।
तोफु, पनिर, भटमास, बदाम बकुल्लालगायतका खानेकुरा मासुको विकल्प हुन सक्छन् प्रोटिनका लागि । जस्तो क्वाँटी धेरै प्रोटिन पाइने परिकार हो । क्वाटी हामी प्रायः रक्षाबन्धनको दिनमात्र खान्छौँ । त्यसको अर्थ चाहिँ के भने अब जाडो आउन थाल्यो क्वाटी अरु बेलामा पनि खाने र बिहान दिउँसो बेलुका खानु पर्छ भन्ने हो ।
मासु खाने मान्छेले थोरै चिल्लो हालेर खाने हो । तरकारी खाने मान्छेले पनि धेरै चिल्लो, धेरै नुन हालेर नखाने यसले स्वास्थ्यमा फाइदा गर्छ ।
खानाले कस्ता रोग लाग्छन् ?
खाना र अस्वस्थ जीवनशैलीकै कारण धेरै रोगहरू लाग्दछन् । सबैभन्दा महत्वपूर्ण कुरा त खानाकै अर्थात् जङ्कफुड (पत्रु खाना) को कारणले यो पुस्तालाई विभिन्न किसिमको नसर्ने रोग लागेको पाइन्छ । धेरै त मधुमेहका समस्या छन् । पहिले हामी कलेजमा पढ्दाखेरी मधुमेहको समस्या ५०/६० वर्ष पार गरेका मानिसमा मात्र हुन्थ्यो अहिले त धेरै बच्चामा यो समस्या देखिएको छ ।
यसको प्रमुख कारण नै अस्वस्थकर खानेकुरा हो । विशेषगरी युवा पुस्ता र बिहान बेलुका घरमा खाए पनि दिउँसो बाहिर रेष्टुरेन्ट र होटलमा खान्छन् । अस्वस्थ्यकर खाना खान्छन् । त्यसले स्वास्थ्यमा समस्या आएको छ । बेलाबेलामा बाहिरको खानेकुरा घरमै मगाएर खाने चलन छ ।
पकाउन अल्छी लाग्यो भने बाहिरको खानेकुरा मगाएर खाने चलन पनि फस्टाउँदो छ । त्यस्ता खानेकुरा हेर्नमा राम्रा हुन्छन् तर धेरै चिल्लो र विभिन्न प्रकारका मसलाले स्वास्थ्यका लागि उपयुक्त हुँदैनन् । त्यस्तै पत्रुखानाहरू चाउचाउ, बिस्कुट पाउरोटीलगायत मैदाजन्य खानेकुरा खाँदा यसले शरीरमा सधैँ बेफाइदा गर्छ । यसले शरीरका विभिन्न अङ्गमा असर गर्दछ ।
हाम्रो रोगसँग लड्ने क्षमता कम गर्दछ । पाचनमा समस्या पार्छ । कब्जियतलगायत पेटका समस्या आउँछन् । अर्को कुरा हामी धेरै चिल्लो र गुलियो खाँदा यसले कलेजोमा समस्या पार्छ । पहिलापहिला रक्सी खाने मान्छेलाई मात्रै कलेजोमा समस्या पथ्र्यो । अहिले रक्सी नखानेहरूलाई पनि कलेजोमा समस्या छ ।
नेपालको एउटा अध्ययनले अस्पतालमा आएका महिलामध्ये ५७ प्रतिशतलाई कलेजोमा बोसो जमेको भेटिएको थियो । कलेजोमा बोसो जमेपछि त विभिन्न किसिमको समस्या हुन्छ । बोसो जमेपछि कलेजोले राम्रोसँग काम गर्दैन । कलेजो भनेको शरीरको यस्तो अङ्ग हो, जसले हाम्रो शरीरमा हुने विषाक्त पदार्थलाई बाहिर निकाल्छ ।
कलेजो नै बिरामी भएपछि विषाक्त पदार्थ बाहिर निस्कन सक्दैन । विषाक्त पदार्थ बाहिर निस्कन नपाएपछि अनेकौं प्रकारका रोगहरू लाग्छ । मुटुको रोग, मिर्गाैलाको रोग, मधुमेहको समस्या हुन्छ । अहिले नेपालमा विभिन्न किसिमको समस्या हुनुको कारण अस्वस्थ जीवनशैली र अस्वस्थकर खानेकुरा हो ।
दशैं तिहार आउन लागेको छ । यो बेला मान्छेले धेरै र अस्वस्थकर खानेकुरा खाने, पार्टी प्यालेसहरूमा भोज गर्ने, भोजमा धेरैजसो मानिस सुरुमै चिल्लो स्न्याक्स टन्न खाने त्यसपछि रक्सी खाने गर्दछन् । त्यसले कलेजोमा समस्या पर्छ । हामी बाहिरको सेतो लुगामा कुनै फोहोर लाग्यो भने त्यसलाई फुकाल्छौँ । तर भित्रका अङ्ग कलेजो, फोक्सो, आन्द्रा, मुटु, मिर्गौलाहरूमा समस्या प¥यो भने चाहिँ के गर्ने ? विचार नै गर्दैनौं ।
जिब्रोको एकछिनको स्वादका लागि भविष्यको वास्तै गर्दैनौं । त्यसकारणले धेरै समस्या देखा पर्दछ । एक अध्ययनले मधुमेहको समस्या उच्च रक्तचापको समस्या हुने र पछि त्यही मान्छेलाई बिर्सने रोग डिमेन्सिया लाग्ने देखाएको छ । डिमेन्सियाले आफ्नो घरपरिवार नै नचिन्ने, साथीभाइ र छोराछोरी नै नचिन्ने जस्तो गम्भीर समस्या देखापर्ने सम्भावना हुन्छ ।
अस्वस्थकर खानाले रोगसँग लड्ने शक्ति पनि कम हुन्छ । अस्वस्थकर खानेकुराले हाम्रो शरीरको अङ्गप्रत्यङ्गमा मात्र होइन, हाम्रो जिन्दगीमा नै नकरात्मक असर पर्दछ ।
अन्त्यमा, दशैं र तिहार हिन्दुहरूको रमाइलो चाड हो । यसलाई हामीले परिवारजनसँग साथीभाइसँग मिलेर मनाउनुपर्छ । अस्वस्थकर खानेकुरा चाहिँ सकेसम्म नखाने । स्वस्थकर खानेकुरामात्र खाने जसका कारण बाँकी जीवन स्वस्थ भएर बाँच्न सकौँ ।
प्रकाशित मिति: २४ आश्विन २०८१, बिहिबार