दशैं, नयाँ नोट र विद्युतीय मुद्रा


 


नन्दकुमार ढकाल
उपनिर्देशक, नेपाल राष्ट्र बैंक

मुद्राको गुणस्तर कायम राख्य यसको व्यवस्थापन गर्ने जिम्मेवारी नेपाल राष्ट्र बैंकको मुख्य भूमिका भए पनि चलनचल्तीमा रहेको नेपाली नोटको सफाइ र औसत आयु बढाउन बैंकको प्रयासमात्र पर्याप्त हुँदैन । यसमा मुद्राको प्रयोगकर्ता सबैको उत्तिकै भूमिका रहन्छ ।

पृष्ठभूमि
वस्तु विनिमय प्रणालीका कठिनाइहरू हटाउने उपायको रूपमा मुद्राको आविष्कार भएको हो । मुद्राको सुरुवात हुनु अगाडि वस्तु विनिमयमा दोहोरो आवश्यकताको संयोग मिलाउने, एउटै स्तरमा वस्तु तथा सेवाको मूल्य मापन गर्ने, वस्तु तथा सेवाको मूल्य संचय गर्ने, सापटी लिएको वस्तु तिर्ने समयमा नहुँदा उपलब्ध नहुने, भुक्तानी कुशलता नहुनेलगायत विभिन्न कठिनाइहरू थिए ।

मुद्राको विकासले अर्थव्यवस्थामा क्रान्ति नै ल्याइदिएको छ । मुद्राको विकाससँगै भुक्तानी प्रणाली आधुनिकीकरणले संसार एउटा गाउँ जस्तो भएको छ । विश्व डिजिटल मुद्राको युगमा प्रवेश गरेको छ । नेपाल करिब सात दशकको अवधिमा आफ्नै मुद्रा देशभर चलाउने उद्देश्यदेखि डिजिटल मुद्रा प्रयोगमा ल्याउने लक्ष्यसम्म आइपुगेको छ ।

आधुनिक अर्थव्यवस्थाको अबको यात्रा सहज बनाउन नेपाली समाज विद्यमान कतिपय परम्परागत अभ्यासहरूमा भने सुधार जरुरी छ । मुद्राको प्रचलन सन्दर्भमा पनि सुधार जरुरी छ ।

नेपाली मुद्राको चलनचल्ती अभ्यास

नेपालमा मुद्रा निष्कासन गर्ने अधिकार देशको केन्द्रीय बैंकको रूपमा रहेको नेपाल राष्ट्र बैंकलाई छ । नेपाल राष्ट्र बैंकले सम्पादन गर्ने विभिन्न कार्यहरूमध्ये मुद्रा व्यवस्थापन एक महत्वपूर्ण कार्य हो । राष्ट्र बैंकले मुद्रा व्यवस्थापन गर्ने कार्यअन्तर्गत नोट छाप्ने, चलनचल्तीमा ल्याउने, देशभर नगद मुद्रा पु¥याउने, सर्वसाधारणसम्म पुगेको नोट राष्ट्र बैंकमा फर्किएर आउँदा चलनचल्ती योग्य र अयोग्य भनी छुट्याउने जस्ता विभिन्न कार्य गर्नुपर्ने हुन्छ ।

यस्ता कार्य गर्न ठूलो संख्यामा जनशक्ति र रकम खर्च हुने गरेको छ । मुद्राको क्रयशक्ति क्रमिक रूपमा घट्दै जाने भएकोले दैनिक कारोबार गर्न मुद्राको माग बढ्दै जाने हुन्छ । नेपाल अल्पविकसित देश भएको, अनौपचारिक अर्थतन्त्रको आकार तुलनात्मक रूपमा ठूलो रहेको र नेपालीहरूमा वित्तीय साक्षरता न्यून रहेको लगायत कारण नगदमा कारोबार गर्ने प्रवृत्ति बढी छ ।

यसले नेपाली समाजमा चलनचल्तीमा रहेको तुलनात्मक रूपमा मुद्रा बढी रहेको देखिन्छ । पछिल्लो तथ्याङ्कअनुसार भारतमा कुल गार्हस्थ्य उत्पादनको तुलनामा चलनचल्तीमा रहेको मुद्राको अनुपात १२ प्रतिशत रहेको छ । नर्वे, स्वीडेन, डेनमार्क, क्यानडाजस्ता देशहरूमा यस्तो अनुपात ४ प्रतिशतभन्दा कम रहेको देखिन्छ भने जापान, थाइल्यान्ड, स्वीजरल्यान्डजस्ता कतिपय देशमा १० प्रतिशतभन्दा बढी छ ।

नेपालमा विगत २० वर्षको औसत चलनचल्तीको मुद्रा र कुल गार्हस्थ्य उत्पादनको अनुपात १३ प्रतिशत रहेको छ । २०८१ असारमा यस्तो अनुपात ११.८ प्रतिशत रहेको छ । पछिल्लो समय डिजिटल पूर्वाधारको विकास हुँदै गएको, डिजिटल कारोबारलाई प्रोत्साहन गरिएको र मानिसहरू डिजिटल कारोबारमा अभ्यस्त हुँदै गएकोले नगद मुद्रा कम प्रयोग हुने अभ्यास बढेको छ । कोभिड महामारीले पनि डिजिटल भुक्तानी माध्यमलाई अवलम्बन गर्न सहयोग पु¥याएको हो ।

चाडपर्वमा मुद्रा व्यवस्थापन
दशैं तिहारजस्ता चाडपर्वको समयमा मुद्राको प्रयोग बढी हुने गरेको छ । विगत ५ वर्षमा असार मसान्तको तुलनामा दशैं तिहारको समय (असोज–कात्तिक महिना) मा चलनचल्तीमा रहेको मुद्रा औसत ४६ अर्ब रुपैयाँले बढी हुने गरेकोे देखिन्छ । चाडपर्वको समयमा साना दरका नोटको प्रयोग बढी हुने गर्छ ।

अझ, नेपाली समाजमा दशैं भन्नेवित्तिकै नयाँ नोट पनि आउने गरेकोे छ । मुख्य रूपमा दशैंमा टीका लगाएर दक्षिणा दिन नयाँ नोटको प्रयोग गर्ने परम्परागत अभ्यास रहिआएको छ । यस प्रयोजनका लागि खासगरी पाँच रुपैयाँदेखि सय रुपैयाँसम्मका साना दरका नोटको प्रयोग हुने गरेको छ ।

नेपाली समाजमा दशैं तिहारजस्ता चाडपर्व र मन्दिरमा भेटी चढाउन पनि नोट तथा सिक्काको प्रयोग हुने गरेको छ । तिहारमा देउसी भैंलो खेल्न आउनेलाई दान दिने प्रयोजनको लागि नगद पैसाको प्रयोग हुँदै आएको छ । यस्ता कार्यमा नयाँ नोटकै प्रयोग गर्न खोज्ने प्रवृत्ति छ ।

अर्थशास्त्रीय दृष्टिकोणबाट हेर्दा मुद्राको आवश्यकता लेनदेन कारोबार गर्न, सञ्चय गरी भविष्यमा आउन सक्ने संकट सामना गर्न र सट्टेबाजी प्रयोजनका लागि हुन्छ भन्ने मान्यता छ । मुद्राको आविष्कार विनिमयलाई सहजीकरण गर्न, मूल्यको मापन तथा सञ्चय गर्न, समयअन्तरालमा भुक्तानी गर्न आदिका लागि भएको मानिन्छ ।

यस आधारमा मुद्राको मूल्य नयाँ वा पुरानो दुवैको एउटै हुने हो । यसो भए पनि नेपाली समाजमा चाडपर्वको समयमा नयाँ नोट प्रयोग गर्न खोज्ने प्रवृत्ति विद्यमान छ । त्यसैले मुद्राको यस प्रकारको मागलाई यसको वास्तविक प्रयोजनभन्दा पनि परम्परागत प्रचलन र सहजताको रूपमा लिन उपयुक्त हुन्छ । त्यसैले, समान क्रय क्षमता भएका नयाँ वा पुरानो नोटबीच भिन्नता देखिनु र नयाँ नोटप्रति बढी आकर्षण रहनु भनेको एक प्रकारको भ्रम हो । मौद्रिक अर्थशास्त्रका आधारमा यसलाई मुद्रा भ्रम भन्न सकिन्छ ।

दशैं तिहारमा चलनचल्तीमा गएको नोटको ठूलो अंश चाडवाडपश्चात बैंकिङ प्रणालीमा फर्किने गरेको र यसको सर्टिङ गरी चलनचल्ती योग्य नोटलाई पुनः बजारमा पठाउन सकिने भए तापनि तत्काल सानो दरको नोटको माग कम हुने हुन्छ ।

अर्को वर्ष दशैं तिहारमा फेरि यस्तो सुकिलो नोटभन्दा नयाँ नोट खोज्ने प्रवृत्तिको कारण नोट छपाइ लागत वर्षेनि बढ्दै जाने, नोट व्यवस्थापनको लागि ढुकुटीको आकार बढाउनुपर्ने र नोट व्यवस्थापनमा बैंक तथा वित्तीय संस्था र नेपाल राष्ट्र बैंकको कार्यबोझ थपिने गरेको छ ।

वास्तवमा केन्द्रीय बैंकले चलनचल्तीयोग्य ठहर गरी बजारमा पठाइएका नोटप्रति उत्तिकै जनविश्वास हुन जरुरी छ । नयाँ नोटको खोजी गर्ने पुरानो मानसिकता त्याग्न जरुरी छ । यसो भन्दै गर्दा सुकिलो नोटको रूपमा बजारमा उपलब्ध नोटहरू गुणस्तरीय र चलनचल्तीयोग्य हुन् भने उत्तिकै जरुरी छ । यसतर्फ नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरू सजग रहन जरुरी छ ।

मुद्रा व्यवस्थापनमा सुधारको खाँचो

मुद्रा देशको पहिचान हो । सफा, आकर्षक, गुणस्तरीय, देश तथा समाजलाई चिनाउन सक्ने मुद्राले देशको प्रतिष्ठा बढाउँछ । चलनचल्तीमा रहेको नेपाली नोटको सुकिलोपन र सफाइको अवस्थालाई दृष्टिगत गरी वित्तीय साक्षरता बढाउन जरुरी छ । वित्तीय सचेतनाको अवस्था कमजोर रहेको सन्दर्भमा नयाँ नोट प्रचलनमा ल्याउने अभ्यासले सुकिलो नोट प्रयोगमा लैजान नसकिने जसले गर्दा नोटको औसत आयु नै कम हुने गरेको छ ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ ले यस बैंकलाई देशभर मुद्रा व्यवस्थापन गर्ने जिम्मेवारी दिएको छ । यस बैंकले अर्थतन्त्रमा मुद्राको मागअनुरुप आपूर्ति गर्न कम्तीमा आगामी तीन वर्षको लागि पर्याप्त हुनेगरी नगद मुद्राको माग प्रक्षेपण गरी नोट छपाइ गर्ने, निष्कासन गर्ने र सटही सुविधा प्रदान गर्ने कार्य गर्दै आएको छ ।

मुख्यरूपमा चाडवाडको समयमा परम्परागत रूपमा नोटको माग बढ्ने भएकोले सोहीअनुरुप मुद्रा व्यवस्थापन हुने गर्दछ । बैंक नोटले प्रत्येक व्यक्तिको दैनिकीलाई समेत प्रत्यक्ष रूपमा प्रभाव पार्ने भएकोले मुद्रा व्यवस्थापन गर्ने कार्य राष्ट्र बैंकको प्रतिष्ठासँग जोडिने गरेकोे छ ।

मुद्राको माग अनौपचारिक अर्थतन्त्रको आकार, सट्टेबाजी प्रवृत्तिको अवस्था, मानिसमा पूर्वसावधानी प्रवृत्ति, बैंकिङ प्रणालीको विकासको अवस्था, वित्तीय साक्षरता र पहुँचको अवस्था आदिमा निर्भर रहने गरेको पाइन्छ । आधुनिक भुक्तानी प्रणालीको विकास, मुद्राले भुक्तानी तथा बचतमा पार्ने प्रभाव तथा डिजिटल मुद्राको विकासले पनि मुद्राको मागमा प्रभाव पार्ने हुन्छ ।

यस्ता पक्षहरू ख्याल गर्दै क्रमिक रूपमा भौतिक मुद्रालाई स्वच्छ, सफा, आकर्षक र टिकाउ बनाउन जरुरी छ । मुद्राको गुणस्तर कायम राख्य यसको व्यवस्थापन गर्ने जिम्मेवारी नेपाल राष्ट्र बैंकको मुख्य भूमिका भए पनि चलनचल्तीमा रहेको नेपाली नोटको सफाइ र औसत आयु बढाउन बैंकको प्रयासमात्र पर्याप्त हुँदैन । यसमा मुद्राको प्रयोगकर्ता सबैको उत्तिकै भूमिका रहन्छ ।

विद्युतीय मुद्राको अबको यात्रा

विश्वभर केन्द्रीय बैंकहरू विद्युतीय मुद्रा निष्कासन गरी प्रयोगमा ल्याउन प्रयासरत छन् । छिमेकी देश भारतले पनि केन्द्रीय बैंक मुद्रा प्रचलनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकले समेत आगामी दुई वर्षभित्र आफ्नै विद्युतीय मुद्रा प्रयोगमा ल्याउने योजना बनाएकोे छ । यसको लागि बैंकको भुक्तानी प्रणाली विभागअन्तर्गत छुट्टै महाशाखा स्थापना गरी तयारी गरेको छ ।

विद्युतीय मुद्राको विकास भएसँगै भुक्तानी प्रणाली थप आधुनिक र कुशल हुने, मौद्रिक नीतिको प्रभावकारिता बढ्ने, वित्तीय क्षेत्र थप प्रतिस्पर्धी हुने, अर्थतन्त्रको औपचारिकीकरण बढ्ने र राज्यले नागरिकलाई दिने सेवा प्रवाहमा सहजीकरण हुने अपेक्षा गरिएको छ ।

आजको प्रतिस्पर्धी र खुला संसारमा प्रविधिको विकासले दिएको अवसरलाई सदुपयोग गर्दै अगाडि बढ्न जरुरी छ । यसैअनुरुप नेपाल राष्ट्र बैंक पनि विद्युतीय मुद्रा निष्कासन गर्नेतर्फ अगाडि बढेको छ । विद्युतीय मुद्रा प्रयोगमा ल्याउने नेपाल राष्ट्र बैंकको योजना सफल हुन नेपाल सरकार, समग्र वित्तीय क्षेत्र, व्यावसायिक क्षेत्र, सर्वसाधारण नागरिकलगायत सरोकारवाला सवै पक्षको साथ र सहयोग जरुरी छ ।

भौतिक मुद्रामा अभ्यस्त नेपाली समाज नयाँ नोट परम्पराबाट डिजिटल भुक्तानीमा अध्यस्त भइसकेको छ । अब्को केही वर्षमा नेपालमा केन्द्रीय बैंक विद्युतीय मुद्रा पनि अभ्यासमा आउने छ ।

प्रकाशित मिति: २४ आश्विन २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्