दशैंको धार्मिक र सांस्कृतिक महत्व


 


प्रा.डा. देवमणि भट्टराई
धर्मशास्त्र, विभागाध्यक्ष
वाल्मीकि विद्यापीठ, काठमाडौँ
पुजन, पाठ आदिका संस्कार गर्नाले हामीमा नयाँपन आउँछ । त्यसले दृढशक्ति अर्थात् कुनै पनि काम गर्ने, निश्चय गर्ने त्यसलाई पूर्ण गर्ने उच्च क्षमताको प्रवाह गर्छ ।
………………………
बडादशैं के हो ?
यो सनातन धर्मको इतिहास भनेको धेरै पुरानो छ । एक अर्ब पञ्चानब्बे करोड वर्षभन्दा पहिलेदेखिको इतिहास हो । यो सनातन चलिआएका चाडपर्व धर्म संस्कार, संस्कृतिहरू अनादि रूपमा लिइएको छ किनकि जो मान्छे जन्मियो त्यसले सुरु ग¥यो र त्यहाँदेखि निरन्तर चल्दै आयो । त्यो गर्दैगर्दै ब्रह्मादेखि लिएर अर्थात् नारायणदेखि यसको आरम्भ हुन्छ ।

वर्ष दिनभरिका चाडपर्वहरूमा दशैँ अर्थात् विजयादशमी, जसलाई हामी बडादशैं भन्छौँ, यो एउटा यस्तो परम्परा हो जहाँ शक्तिको उपासना गरिन्छ । शक्तिको उपासना राज्यले पनि गर्नुपर्छ र व्यक्तिले पनि गर्नुपर्छ । राज्य र व्यक्तिले गरेका शक्तिका उपासना आफ्नो लागि उपयोगी हुन्छन् ।

हामीले गरेका कार्यहरू राज्यमा जोडिन्छन् र राज्यले गरेका कार्यहरू पनि हामीसँग जोडिन्छ । धार्मिक विधिअनुसार हामीले शक्ति आर्जन गर्नका लागि उपासना गर्ने हो । शक्ति भनेको बलमात्रै होइन, विद्या, पुरुषार्थ आदि सबै कुरा उपार्जनका लागि हामी यसको उपासना गर्दछौँ ।

खास गरेर महाकाली, महालक्ष्मी, महासरस्वती अनि सँगसँगै भगवती दुर्गाको उपासना गरिन्छ । दुर्गामा चाहिँ त्यो खालको शक्ति छ, जसले गर्दा हामीलाई यो लोकमा सुख र परलोकमा सुख दिने हुनाले यो विजयादशमी अर्थात् यो नवरात्रभरि उपासना गरेर अन्तिममा दशैं बिदा गरिन्छ ।

दशैंमा विजयादशमीका दिन हामी मान्यजनबाट टीका प्रसाद ग्रहण गर्दछौं । कतै त्यसै दिन, कतै दशैंभरि पूर्णिमासम्म टीका लगाउने चलन छ । यो समयमा टीका लगाउन मान्यजनका घरघरमा जाने चलन छ । यस्तो प्रकारको प्रक्रिया घटस्थापनादेखि दशमीसम्मका कृत्यहरूको समोच्च नै बडादशैं हो ।

दशैंको धार्मिक महत्व

हामी जो व्यक्ति छौँ । हामी जो मानव छौँ । मानव भनेको चेतना विशिष्ट ज्ञान भएको मानव हो । यसले आफूले गर्नुपर्ने कर्तव्य, अकर्तव्य, गर्नुपर्ने कुरा, नगर्ने कुराहरू कहाँबाट थाहा हुन्छ त भन्दा यिनै चाडपर्वहरूबाट थाहा हुन्छ । विशेष गरेर दशैंजस्ता पर्वहरूले हामीलाई ती कर्तव्यबोध गराउँछ ।

धर्मचाहिँ हाम्रो शाश्वत हुन्छ । त्यो कर्तव्यसँग पनि जोडिन्छ । धर्म शब्दको धेरै राम्रो परिभाषा छ । त्यसैले त्यो कर्तव्य पालन गर्नमा यो विजयादशमीले अनिवार्य रूपमा हामीलाई सिकाउँछ । जस्तै राष्ट्रप्रमुखले विजयादशमीमा सीमा उल्लङ्घन भन्छ, आफ्नो सीमाभन्दा अलिकति अतिक्रमण गर्ने परम्परा छ ।

हाम्रो शास्त्रले राष्ट्रप्रमुख आफ्नो राज्य विस्तार गर्न क्षमतावान् हुनुपर्छ भन्छ । त्यसैगरी धर्म, संस्कार, संस्कृतिको पालना ब्राह्मण वर्गले गर्नुपर्छ । क्षेत्रीय वर्गले त्यसैगरी गर्नुपर्छ । यो कर्तव्यबोध गराउनु यसको धार्मिक उद्देश्य र महत्व हो ।

दशैंको सांस्कृतिक महत्व

विशेष गरेर संस्कारलाई हामीले निश्चित रूपमा संस्कार, संस्कृति र सांस्कृतिक कार्यक्रम ती निश्चित रूपमा सरर आएका छन् । हामीले जुन प्रकारका संस्कार गर्छौँ । पुजन, पाठ आदिका संस्कार गर्नाले हामीमा नयाँपन आउँछ । त्यसले दृढशक्ति अर्थात् कुनै पनि काम गर्ने, निश्चय गर्ने त्यसलाई पूर्ण गर्ने उच्च क्षमताको प्रवाह गर्छ त्यो नै विजयादशमी हो । त्यो विजयादशमीमा हामीले आफ्नो धर्म संस्कृतिलाई ठीकसँग पालन गर्न सक्यौँ अथवा यसलाई हामीले समाजसँग जोड्न सक्यौं भने समाजले त्यो कुरालाई ग्रहण गर्छ ।

समाजलाई हामीले त्यो कुरा पचाउने गरी दिन सक्यौं भने सांस्कृतिक रूपमा हामी पक्कै समाजसँग जोडिन्छौँ । धर्मले जोड्ने हो । धार्मिक कृत्यले व्यक्तिलाई जोड्ने हो, तोड्ने होइन । सांस्कृतिक दृष्टिले हेर्दा संस्कृतिले के गर्छ भने मान्छेलाई जोड्छ । हामीले देश विदेशमा भएका हाम्रा आफन्तजन पनि विजयादशमीमा घरगाउँमा फर्कन्छन् । यस्तो खालको संस्कृति परम्परा यो धार्मिक कृत्य गर्नका लागि आउँछन् ।

प्रसाद लगाउने कुरा पछिको तर त्यसको संस्कृतिले हामीलाई जोड्ने काम गर्छ । एकापसमा जोड्नका लागि मद्दत गर्छ । पर पर विदेशमा छरिएकाहरू आउने कति वर्षदेखि भेट नभएका मान्छे भेट हुने ओल्लो घर पल्लो घरका मान्छे भेट्ने अनि हाम्रो आपसमा केही वैमनश्यता छ भने त्यसको पनि निराकरण गर्नेजस्ता कामहरू यो दशैं संस्कृतिले तथा विजयादशैंको संस्कृतिले सिकाउँछ ।

दशैं कसरी मनाउने ?

दशैं मनाउने प्रक्रियाहरूका विशेष गरेर घटस्थापनादेखि हामीले जमरा राखेर नौ दिनसम्म त्यसको पाठ गरेर नवौँ दिनका दिन हवन गरेर विजयादशमीका दिन विसर्जन गरेर टीका लाउने छोटो रूपमा यति नै हो । यसमा बीचबीचमा गर्ने कृत्यहरू जस्तो प्रथम दिन घटस्थापनाका दिन जौ रोप्ने प्रक्रिया छन् ।

जसलाई जेवा रोपण भनेर भनिन्छ । त्यसका प्रक्रियाहरू आफ्नै खालका छन् । अनि सँगसँगै खष्टीका दिन बेलपत्रको निमन्त्रणा गर्दै सप्तमीका दिन त्यो बेलपत्रसहित फूलपाती भित्र्याउने, बेलका दानासहितको हाँगो ल्याउने, त्यो भित्र्याउने । अनि हर्षबढाइँका साथ हामीले लौकिक रूपमा अर्थात् स्थानीय रूपमा मनाउँदै आएका छौँ ।

नेपालको सन्दर्भमा भने हनुमानढोमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याउने शुभसाइतमा । यी कृत्य गरेर सप्तमीका दिनका कर्महरू गरिन्छन् । अष्टमीका दिनचाहिँ अब हामीले नौ ओटा थुप्रो लगाएर शैलपुत्री आदि देवीहरूको पुजन गर्ने । अनि त्यसबीचमा खड्ग राख्ने, आलम राख्ने त्यसो गरेर हामीले अष्टमीका दिनको कृत्यहरू गर्छौँ ।

हातहतियारको पूजा पनि गर्छौँ । अनि बलिदान गर्ने बलि पनि गर्छन् । बोका आदिको बलि गर्ने पनि चलन छ । पशुबलि नगर्नेले कुभिण्डो, घिरौलो, लौका, केला आदिको प्रतिमा बनाएर बलि दिने गरिन्छ । अनि नवमीका दिन हामीले दैनिक नित्य कृत्यहरू गरेर कसैको चाहिँ भीमसेन आदिको पूजा गर्ने चलन हुन्छ । त्यसमा विशेष गरी पूजाआजा गर्ने चलन हुन्छ अनि हवन गर्ने अनि प्रतिदिन घटस्थापनादेखि कन्या पूजा गर्ने प्रक्रिया हुन्छ ।

यदि त्यो गर्न नसकेको अवस्थामा नवमीकै दिन पनि नौ ओटी कन्या र एउटा कुमारलाई कुमारी भोजन गराउने, दक्षिणा दिने, बस्त्र, छाता आदि दिने चलन हुन्छ । त्यसपछि बाहिरको हवनको प्रक्रिया विसर्जन गरिन्छ ।

भित्र पूजाकोठामा दशमीको दिन शुभसाइतमा देवीको विसर्जन गरेर टीका लगाउन सुरु गरिन्छ । आफ्ना मान्यजनबाट टीका प्रसाद लगाउन ठाउँठाउँमा जाने भेटघाट गर्ने र रमाइलो गरेर दशैं मनाइन्छ ।

दशैं यस्तो पवित्रतम् चाड हो, धार्मिक र सांस्कृतिक दृष्टिले पनि व्रतका दृष्टिले पनि उपवासका दृष्टिले पनि, अनि सँगसँगै सामाजिक दृष्टिले पनि हामीलाई सबल बनाउँछ । यसबाट हामीले धर्म र संस्कृतिका माध्यमद्वारा परिवार र समाजलाई जोड्ने र सांस्कृतिक कार्यक्रमद्वारा आपसमा घुलमिल हुने वातावरण सिर्जना गर्दछ ।

धेरै दिनदेखि भेट नभएका आफन्तसँग भेट्ने अनि मान्यजनहरूसँग टीका प्रसाद लगाउनाले एकप्रकारले मन प्रसन्न हुने र म आफैं रहेछु आफ्नैसँग मिल्न गएको रहेछु भन्ने जस्ता खालका अनेकौं सन्देशहरू यसले दिन्छ ।

त्यसैले दशैंको धार्मिक, सांस्कृतिकमात्र नभएर मानिसलाई प्रत्यक्ष खुसी प्रदान गर्ने र एकापसमा जोड्ने पर्व भएकाले यसलाई सबैले महत्वका साथ मनाउनु उपयुक्त हुन्छ ।

प्रकाशित मिति: २४ आश्विन २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्