गण्डकीमा डेंगु संक्रमणबाट सात जनाको मृत्यु


 


पोखरा, असोज २३ । डेङ्गु सङ्क्रमणबाट गण्डकी प्रदेशमा दुई महिनामा सात जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म तीन पुरुष र चार महिला गरी सात जनाको मृत्यु भएको हो ।

सन् २०२४ जनवरीयता गण्डकीमा १२ हजार सात सय २६ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको मन्त्रालयका सूचना अधिकारी एवं वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत प्रशान्तराज शर्माले जानकारी दिए ।

उनका अनुसार प्रदेश राजधानीसमेत रहेको कास्कीको पोखरा डेङ्गु सङ्क्रमणबाट सबैभन्दा बढी प्रभावित बनेको छ । पोखरा महानगरपालिकामा मात्रै हालसम्म छ हजार चार सय ५२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ ।

गत जनवरीमा जम्मा ७० जनामा डेङ्गु देखिएकामा त्यसयताका नौ महिनामा सङ्क्रमितको सङ्ख्या बढेर साढे १२ हजारभन्दा माथि पुगेको हो ।

तथ्याङ्क अनुसार सबैभन्दा बढी कास्कीमा छ हजार पाँच सय ४८ र सबैभन्दा कम मनाङमा जम्मा दुई जनामा उक्त रोगको सङ्क्रमणको पुष्टि भएको हो ।

तनहुँमा २८ सय ६१, पर्वतमा एक हजार एक सय ४६, गोरखामा छ सय ६४, बागलुङमा पाँच सय ३९, स्याङ्जामा चार सय ४३, म्याग्दीमा दुई सय १३, नवलपुरमा एक सय ८१, लमजुङमा एक सय २० र मुस्ताङमा नौ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ ।

असारदेखि कात्तिकसम्म डेङ्गु सङ्क्रमणको बढी जोखिम हुने र चार प्रकारको भाइरसबाट मानिसमा डेङ्गु सङ्क्रमण हुने गरेको चिकित्सक बताउँछन् । समयमा उपचार नभए डेङ्गुबाट बिरामीको मृत्युसमेत हुनसक्ने भएकाले विशेष स्वास्थ्य सचेतना अपनाउनुपर्ने उनीहरुको सुझाव छ ।

डेङ्गुको फाइरस फैलाउने लामखुट्टे खाल्डाखुल्डी, पुराना टायर, ड्रम, भाँडाकुडा आदिमा जम्मा भएको पानीमा बस्ने हुँदा तिनलाई खाली गर्नुपर्ने सुझाव दिइएको छ ।

प्रकाशित मिति: २३ आश्विन २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्