रामेछापमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, १२ घाइते


 


रामेछाप, असोज २३ । रामेछापको खाँडादेवी गाँउपालिका–३ भीरपानीमा मङ्गलबार साँझ यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

काठमाडौँबाट मन्थली हुँदै सिन्धुलीको सुनकोशी गाँउपालिकास्थित अमारे जाँदै गरेको प्र ०१–००५–ख ९५७९ नम्बरको बस ब्रेक फेल हुँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा सिन्धुली सुनकोसी गाँउपालिका–६ खहरे खोलाकी १७ वर्षीया युनिषा श्रेष्ठ रहेकी जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिए ।

दुर्घटनामा परी घाइते श्रेष्ठको उपचारका लागि सिन्धुलीतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

दुर्घटनामा १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

दुर्घटनाका अधिकांश घाइतेलाई सिन्धुली जिल्ला अस्पतालमा उपचारका लागि पठाइएको प्रहरी नायव उपरीक्षक सिंहले जानकारी दिए ।

कुल ३५ जना सवार बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रकाशित मिति: २३ आश्विन २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्