मन्त्रालयलाई ढोग टक्र्याउँदै हर्क साम्पाङले लेखे पत्र- ‘लौन सरकार खत्रा लाग्नुपर्यो’


 


काठमाडौं, असोज २२ । धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङले फोहोरमैला व्यवस्थापन गर्ने व्यवस्थित सेनेटरी ल्याण्डफिल्ड साइट निर्माण गर्न माग गर्दै बोलीचालीको भाषामा सिंहदरबारस्थित खानेपानी मन्त्रालयलाई पत्र लेखेका छन् ।

फोहोरमैला व्यवस्थापन गर्ने व्यवस्थित सेनेटरी ल्याण्डफिल्ड साइट नहुँदा निकै समस्या भएको भन्दै उनले मन्त्रालयलाई पत्र लेखेका हुन् । उनले पत्रमा लेखेका छन्, ‘धरानको फोहोरमैला व्यवस्थापनका लागि व्यवस्थित सेनेटरी ल्याण्डफिल्ड साइट बनाउन अत्यावश्यक भएकोले योजनाको लागि पुग्दो पैसा हाल्दिनु प¥यो ।’

जंगलमा फालिएको फोहोर वर्षाको बेला बगेर तल्लो भेगमा पुग्ने गरेको छ र सुक्खायाममा फोहोर जलाउँदा जंगलमा डढेलो लाग्ने जोखिम पनि रहेको उनले पत्रमा लेखेका छन् । तार घेरा लगाउन खोज्दा वन कार्यालयका कर्मचारीहरु आएर भत्काइदिने गरेको गुनासो पनि उनले गरेका छन् ।

उनले पत्रको अन्त्यमा लेखेका छन्, ‘लौन सरकार खत्रा लाग्नुप¥यो । सेवा ढोग गरेँ फेरि पनि ।’

प्रकाशित मिति: २२ आश्विन २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्