संगठनकै ‘उत्कृष्ट प्रहरी’ डकैती मुद्दामा फरार


 


काठमाडौं । संगठनमै उत्कृष्ट काम गरे भनेर बिशेष बढुवा पाएका एक प्रहरी गम्भीर प्रकृतिको अपराधमा फरार छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का सहायक हवल्दार लोचन अधिकारी फरार भएका हुन् ।

दुई वर्षअघि उनलाई उत्कृष्ट काम गरेको भन्दै प्रहरी प्रधान कार्यालयले बिशेष बढुवामार्फत हवल्दार बनाएको छ ।

त्यतीबेला उनी मानव बेचबिखन अनुसन्धान ब्यूरोमा कार्यरत थिए । तर, यतीबेला फरार सूचीमा छन् ।

गत २९ साउनमा ललितपुर महानगरपालिका–१४ सातदोबाटो कृषि अनुसन्धान केन्द्र नजिकबाट चार वटा मोबाइल, एउटा ल्यापटप, एउटा गेम बक्स तथा २ तोला बराबरको सुनको सिक्री डकैती गरेको अभियोग मुद्दा उनीमाथि छ ।

उनीसहित जवान डम्मलाल पाध्याले विदेशबाट आएका व्यक्तिको मोबाइल र सुन लुटेका थिए । पाध्या भने पक्राउ परी जेल चलान भइसकेका छन् ।

जवान पाध्यायसहित खोटाङ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–८ कपन बस्ने ३३ वर्षीय प्रकाश भन्ने बिकाश श्रेष्ठ, रामेछाप लिखु तामाकोशी गाउँपालिका–२ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–८ बस्ने २८ वर्षीय गुन्दाश भन्ने मनोज भुजेल पक्राउ परेकोमा जेल चलान भएका हुन्।

आफु पनि फस्ने थाहा पाएलगत्तै हवल्दार अधिकार भने भागेका थिए । विदेशबाट तस्करी गरेको सामान लुटपाट गर्दा कतै उजुरी पनि नपर्ने ठानेर उनीहरूले लुटपाट गरेका हुन् ।

यद्यपी बीचैमा सो सामान सम्बन्धितलाई फिर्ता समेत गरिएको थियो । यद्यपी प्रहरी नै मिलेर लुटेको खुलेपछि अपराध अनुसन्धान कार्यालयले विस्तृत अनुसन्धान गरी पक्राउ गरेको थियो ।

यो घटनाले प्रहरीमा उत्कृष्ट काम गरेको भनेर कस्ता प्रहरी पुरस्कृत हुन्छन् भन्ने पनि प्रष्ट पारेको छ ।

हरेक वर्ष प्रहरी महानिरीक्षकले उत्कृष्ट काम गरेको आधारमा १० जनासम्म प्रहरीलाई बिशेष बढुवा दिन सक्ने प्रावधान छ ।

तर, यस्तो बढुवा पनि निष्पक्ष नहुने गरेको यो घटनाले पुष्टि गरेको छ ।

प्रकाशित मिति: २१ आश्विन २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्