दशैं मनाएर ओली नेतृ‌त्वको सरकार छाड्छौँ : रेशम चौधरी


 


काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले दशैं मनाएपछि केपी शर्मा ओली नेतृ‌त्वको सरकार छाड्ने बताएका छन् ।

जन्मदिनको अवसरमा सोमबार एक भिडियो सन्देश जारी गर्दै चौधरीले यस्तो बताएका हुन् । उनले संघीय सरकारमा आफ्ना मन्त्रीलाई भूमिकाविहीन बनाइको बताए ।

उनले अहिलेकै जस्तो अवस्था रहे दशैँलगत्तै सरकार छाड्ने घोषणा गरे । राज्यमन्त्री अरुण चौधरीलाई भूमिकाविहीन बनाइएको भन्दै उनले असन्तुष्टि पोखे ।

चौधरीले भने,‘अधिकार दिनुस्, जनताबीच जाने अवसर दिनुस् भन्दा पनि ठूला दलले सुनिरहेको अवस्था छैन । ठूला दलले कुरा नसुन्ने भए केन्द्रीय कमिटीको बैठकबाट निर्णय गरेर जनतामा जान्छौँ । दशैँ पछाडिबाट हामी सरकारमा सहभागी हुन्नौँ ।’

चौधरीले आफ्नो चाहना कहिल्यै पनि सत्तामा पुग्ने नभएको बताए । केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि केही गर्न सकिने ठानेर मात्रै समर्थन सरकारमा गएको जिकिर गरेका छन् ।

नाउपाका अहिले संघीय संसद्मा चारजना, सुदूरपश्चिममा सातजना, लुम्बिनीमा चारजना र मधेश प्रदेशमा एकजना सांसद छन् । संघीय सरकारमा अरुण चौधरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री छन् ।

सुदूरपश्चिम प्रदेशमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा लक्ष्मणकिशोर चौधरी छन् । रेशमले सुदूरपश्चिम प्रदेशमा आफ्नो पार्टी निर्णायक हुँदाहुँदै अधिकार नदिएको बताए।

प्रकाशित मिति: २१ आश्विन २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्