सिके राउतलाई थप १० दिन थुनामा राख्न अदालतको अनुमति


 


लहान, माघ २१

राज्यविरुद्धको सङ्गठित अपराध मुद्दामा पक्राउ परेका स्वतन्त्र मधेस गठबन्धका संयोजक चन्द्रकान्त राउत (सीके राउत) लाई थप १० दिन थुनामा राखी अनुसन्धान गर्न सिरहा जिल्ला अदालतले आदेश दिएको छ ।

मुद्दामा थप अनुसन्धान गर्नुपर्ने भन्दै इलाका प्रहरी कार्यालय लहानले म्याद थप माग गरेपछि अदालतले यस्तो आदेश दिएको हो । इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजकुमार केसीका अनुसार अदालतको यो आदेशसँगै राउतलाई थुनामा राखी अनुसन्धान गर्न र उहाँविरुद्ध थप प्रमाण जुटाउन सहज हुनेछ ।

गत माघ ५ गते सिरहाको लहानको सभामा राउतले मधेस छुट्टै देश बन्ने अभिव्यक्ति दिनुको साथै देश टुक्र्याउने गतिविधि सञ्चालन गर्दै आएकाले उहाँमाथि राज्यविरुद्ध सङ्गठित अपराधअन्तर्गत मुद्दा चलाइएको प्रहरी नायब उपरीक्षक केसीले बताउनुभयो ।

सप्तरीको महदेवा गाविस घर भई जनकपुरमा कोठा भाडा लिएर बस्दै आएका राउतलाई हिजो बिहीबार जनकपुर माछाबजार नजिकै कोठामा छापा मारेर प्रहरीले पक्राउ गरेको थियो ।

राउतलाई म्याद थपको लागि अदालत लगिने भएपछि बिहानैदेखि लहानको सुरक्षा व्यवस्था कडा पारिएको छ । राउतविरुद्ध यसअघि पनि विशेष अदालतमा राज्य विप्लबको मुद्दा चलेको थियो । तर उहाँ धरौटीमा छुटेका थिए ।

राज्यविरुद्धको अपराध र सजाय ऐन २०४६ मा कसैले नेपालको सार्वभौमसत्ता, अखण्डता वा राष्ट्रिय एकतामा खलल पार्ने नियतले कुनै अव्यवस्था उत्पन्न गरेमा वा सो गर्ने उद्योग गरेमा जन्मकैद हुने कानुनी व्यवस्था रहेको छ ।

प्रकाशित मिति: २१ माघ २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्