श्रीमतीको हत्या गरी फरार एक जना भक्तपुरबाट पक्राउ


 


काठमाडौँ । श्रीमतीको हत्या गरी फरार एक जना भक्तपुरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट दुप्चेश्वर गाउँपालिका-७ घर भएका जितबहादुर भन्ने काले तामाङ रहेका छन् ।

गत वैशाख १९ गते दक्षिणकाली नगरपालिका-६ बस्ने ४५ वर्षीया डोल्मा शेर्पाको आफ्नै डेरा कोठामा मृत फेला परेकी थिइन्। घटनाबारे अनुसन्धान गर्दा शेर्पालाई उनकै पति जितबहादुरले कुटपिट गरी हत्या गरेको खुल्न आएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिए ।

घटनापछि जितबहादुर भने फरार भएका थिए । उपरीक्षक जिसीका अनुसार उनी उपत्यकाका विभिन्न ठाउँमा लुकीछिपी बस्दै आएकोमा आइतबार कार्यालयको टोलीले भक्तपुर नगरपालिका-१० छालिङबाट पक्राउ गर्न सफल भएको हो ।

जितबहादुरलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको लागी प्रहरी वृत्त कीर्तिपुर पठाइएको छ ।

प्रकाशित मिति: २१ आश्विन २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्