कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा प्रहरी जवानको मृत्यु


 


मोरङ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत बेलबारीमा कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई प्रहरी जवानको मृत्यु भएको छ ।

कोशी राजमार्ग र पूर्वपश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा परी नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक–एक जवानको मृत्यु भएको हो।

बेलबारी नगरपालिका–८ चिसाङ पुल नजिक कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा अस्थायी प्रहरी चौकी नडाहामा कार्यरत प्रहरी जवान ३२ वर्षीय चित्रसागर राईको मृत्यु भएको थियो ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ०७३४ नम्बरको कार र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–०४४ प ४९९६ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो ।

दुर्घटनालगत्तै प्रहरीले कार र चालक मोरङको सुन्दरहरैँचा नगरपालिका–९ का ३० वर्षीय दुलाल मियाँलाई नियन्त्रणमा लिएको छ ।

त्यस्तै, कोशी राजमार्गको बूढीगंगामा मिक्सचर ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा सशस्त्र प्रहरीका जवान २७ वर्षीय चन्द्रबहादुर तामाङको मृत्यु भएको छ ।

कोशी राजमार्गअन्तर्गत बूढीगंगा गाउँपालिका– ४ गोकुवा चोकमा प्रदेश १–०२–०५४ प ९२०२ नम्बरको मोटरसाइकललाई प्रदेश १–०२–००१ क ३७१३ नम्बरको मिक्सचर ट्रकले ठक्कर दिएको थियो ।

प्रहरीका अनुसार पूर्वबाट राजमार्गमा निस्किएर उत्तरतर्फ मोडिदै गरेको मोटरसाइकललाई दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मिक्सचर ट्रकले ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण कंकालीनी टंकीसिनवारीमा कार्यरत सशस्त्र प्रहरी जवान तामाङको मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण कंकालीनी टंकीसिनवारीमा कार्यरत अर्का जवान ३० वर्षीय युशन राई घाइते भएका छन् ।

प्रकाशित मिति: २१ आश्विन २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्