दुर्गा प्रसाईँका समर्थकबाट आगजनीमा परेका ट्रक चालकको मृत्यु
बिर्तामोड, असोज २० गते । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउको विरोधमा झापा बन्दका बेला प्रसाईँका समर्थकको आगजनीमा परेका भारतीय ट्रक चालकको मृत्यु भएको छ ।
गत असोज ७ गते राति बिर्तामोड–६ गिरीबन्धु टी–इस्टेटनजिक पूर्वपश्चिम राजमार्गमा सुनसरीको दुहबीबाट जुट पु¥याएर पूर्वतर्फ आउँदै गरेको डब्लुबी ७३ ई ३०५६ नम्बरको भारतीय ट्रकमा दुर्गा प्रसाईँका समर्थकहरू आगजनी गरी फरार भएका थिए ।
ट्रकमा लागेको आगो बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो । आगलागीबाट ट्रकको अगाडिको भाग पूर्ण रूपमा जलेर नष्ट भएको थियो भने पछाडिको भागमा आंशिक क्षति पुगेको थियो ।
आगलागीबाट ट्रकका चालक भारत छप्रा उत्तर दिनाजपुर बस्ने ४० वर्षीय पदा राय घाइते भएका थिए । उनलाई उपचारको लागि बीएण्डसी अस्पतालमा उपचार भई थप उपचार नर्थ बङ्गाल मेडिकल कलेजमा भइरहेकोमा शनिवार राती मृत्यु भएको हो ।
मृतक रायका आफन्तहरूले आइतबार साँझ एसियन हाइवेको काँकडभिट्टा नाकामा पानीटंकीतर्फ शव राखेर प्रदर्शन गर्दै नाका अवरोध गरेका थिए । उनीहरूले साँझ ५.३५ देखि ६ बजेसम्म नाकामा अवरोध पु¥याएका थिए ।
भारतीय प्रहरीले नेपाल प्रहरीसँग सहजीकरण गरी साँझ ६.३० बजे मृतकको शव नेपाल पठाएको छ । शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगजनी गर्ने दुर्गा प्रसाईँका ८ जना समर्थक पक्राउ गरी आपराधिक उपद्रो तथा ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएको छ ।
प्रकाशित मिति: २१ आश्विन २०८१, सोमबार