गाडिएको अवस्थामा मानव कङ्काल फेला, चार जना पक्राउ


 


झापा, असोज २१ । झापाको बाह्रदशीमा खोलामा गाडिएको अवस्थामा मानव कङ्काल फेला परेको छ ।

बाह्रदशी गाउँपालिका–७ स्थित बिरिङ खोलाको पश्चिम किनारमा गाडिएको अवस्थामा मानव कङ्काल फेला परेको हो ।

गत जेठ १५ गते बाह्रदशी–५ फूलाबारीका २२ वर्षीय राजेश हजाम बेपत्ता भएका थिए । उनी सम्पर्कविहीन भएपछि उनका बुबा भीम हजामले इलाका प्रहरी कार्यालय अनारमनीमा जेठ १८ गते निवेदन दिएका थिए ।

बेपत्ता हजामको खोजी गर्ने क्रममा कङ्काल भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।

उनका अनुसार बिरिङ खोला किनारमा भेटिएको शव राजेशकै भएको उनका परिवारले सनाखत गरेको छ ।

घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले बाह्रदशी–७ का ३१ वर्षीय समीर राजवंशी, २१ वर्षीय आशिष थापा, २० वर्षीया मुना मेचे (राजवंशी) र १६ वर्षीय नरेश राजवंशीलाई नियन्त्रणमा लिएको छ ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २१ आश्विन २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्