नेपालको पश्चिम क्षेत्रबाट मनसुन बाहिरिन सुरु


 


काठमाडौँ, असोज २१ । यस वर्षको मनसुन देशको पश्चिम क्षेत्रबाट बाहिरिन थालेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार निर्धारित समयभन्दा चार दिनपछि मनसुन बाहिरन सुरु गरेको हो ।

सुदूरपश्चिम प्रदेशलगायत कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशका पश्चिमी भू–भागको थोरै स्थानहरूबाट मनसुन बाहिरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मनसुनी वायु कमजोर हुँदै गइरहेकाले नेपालको बाँकी भू–भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले बताए । विभागको मौसम पूर्वानुमान महाशाखाले मनसुन बाहिरिन थालेपछि आगामी तीन दिन भने केही ठाउँमा वर्षाको सम्भावना रहेको जनाएको छ ।

अब पश्चिमी वायुको सक्रियता बढ्दै जाने र थप चिसो पनि बढ्ने महाशाखाले जनाएको छ । यस वर्ष नेपालमा गएको जेठ २८ गते मनसुन भित्रिएको थियो । एक दिन ढिला गरी भित्रिएको मनसुन चार दिन ढिला गरी बाहिरिन थालेको हो ।

प्रकाशित मिति: २१ आश्विन २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्