छलकपट गर्दै निर्वाचन नगर्ने खेलमा सरकार लागेको छ – ओली


 


झापा, माघ २१

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार छलकपट गर्दै निर्वाचन नगर्ने खेलमा लागेको आरोप लगाएका छन्। नेकपा एमाले प्रदेश नम्बर १ को दोश्रो पूर्ण वैठकलाई शुक्रबार झापाको दमकमा संवोधन गर्दै उनले एकातिर एउटा कुरा र अर्को तर्फ अर्कै कुरा गर्दै सरकार निर्वाचन नगर्ने खेलमा लागेको आरोप लगाए ।

सरकारले संविधान संशोधनको बखेडा झिकेर निर्वाचन पर धकेल्न खोजेको आरोप लगाए । उनले भने,‘ सरकार एमालेसंग निर्वाचन गर्ने भन्छ अनि मधेशीसंग संशोधन पास गरेर मात्र गर्ने भन्छ, यो सरकारले कस्तो दोहोरो चरित्र हो ?’ सरकारले पटक पटक तमासा देखाई रहेको ओलीको भनाइ छ।

उनले भने, ‘सरकारले हिजै मात्र एउटा तमासा देखायो, चुनावको मिति नतोक्ने रे, तर वैशाखमा वा जेठमा निर्वाचन गर्ने निर्वाचन आयोगलाई पत्र लेख्ने रे, निर्वाचन आयोगलाई मिति घोषणा नगरी किन पत्र लेख्नुपर्‍यो निर्वाचन आयोग निर्वाचन गर्नकै लागि होइन र ?’ सरकारले आउदो माघ ७ भित्रमा तीनवटै तहको निर्वाचन गर्न नसक्ने ठोकुवा समेत गरे ।

एमालेको सरकार रहिरहेको भए अहिलेसम्म स्थानीय तहको निर्वाचन गरिसक्ने ओलीले दावी गरे। फरक प्रसंगमा उनले संविधान निर्माणका बेलामा माओवादीले वितण्डा मच्चाएको आरोप लगाए। अहिलेको सरकार चुनाव हुन नदिने शक्ति र एमालेको बीचमा खेल्न खोजेको समेत आरोप लगाए।

ओलीले संविधानले सबैको मागलाई समेटेकाले संविधान संशोधन आवश्यक नपरेको समेत जिकिर गरे। संशोधन विधेयक जसका लागि संशोधन गर्ने भनिएको हो त्यहाँका जनताको हित विपरित रहेको बताए। उनले विरोधीले एमालेप्रति भ्रामक प्रचार गरेकाले त्यसलाई चिर्न फागुन २१ गतेदेखि मेची–महाकाली राष्ट्रिय अभियान गर्न लागिएको जानकारी दिए ।

प्रकाशित मिति: २१ माघ २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्