पत्रकार महासंघको निर्वाचन मङ्सिर २८ गते गरिने


 


काठमाडौं, असोज २० । नेपाल पत्रकार महासंघको भेलाले आगमी मंसिर २८ निर्वाचन गर्ने निर्णय गरेको छ ।

मध्यपुरथिमिको बोडेमा शनिवार राति सम्पन्न प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेलाले महासंघको तीनै तहको निर्वाचन मंसिर २८ गते निर्णय गरेको हो ।

नेपाल पत्रकार महसङ्घ केन्द्रीय समितिको आयोजना तथा नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखाको व्यवस्थापनमा बोडेमा शनिवार बिहानदेखि राष्ट्रिय भेला शुरू भएको थियो ।

भेलाले सदस्यता विवादको सन्दर्भमा सर्वसम्मत भएका जिल्ला शाखाको सदस्यता जिल्लाको कायम गर्ने, प्रदेशले थप गरेको नामावलीलाई सर्वसम्मतले स्वीकार गर्ने निर्णय भएको महासङ्घका महासचिव रोशन पुरीले जानकारी दिए ।

त्यस्तै सदस्यताको विवाद भएको खण्डमा केन्द्र र प्रदेशको एक–एक जना प्रतिनिधि र शाखा अध्यक्ष रहनेगरी समिति गठन गरेर सर्वसम्मतबाट विवाद टुङ्गो लगाउने निर्णय भएको महासचिव पुरीले जानकारी दिए । उनका अनुसार आगामी कात्तिक मसान्तसम्म सदस्यता टुङ्गो लगाउने निर्णय गर्दै टुङ्गो लागेको सदस्य प्रदेशले केन्द्र पठाउने र केन्द्रले अभिलेख राख्ने निर्णय भएको छ ।

कार्यवाहक अध्यक्ष बाला अधिकारीको अध्यक्षतामा भएको भेलामा पूर्वकेन्द्रीय अध्यक्षहरु, विभिन्न जिल्ला एवं प्रदेशका अध्यक्षहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २० आश्विन २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्