करिब साढे ११ कराेडकाे सुनसहित दुई जना पक्राउ


 


हेटौंडा । प्रहरीले हेटौंडाबाट ८ किलो २४३ ग्राम ९७० मिलिग्राम सुनसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरीले हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटे चेकपोष्टस्थित पूर्व-पश्चिम सडकखण्डको पथलैयाबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत महाराष्ट्र सांगली जिल्ला दिघंची थाना पुजारवाडी बस्ने २५ वर्षीय अभिषेक अजिनाथ कुटी र २७ वर्षीय राहुल भिट्टिहाल बाड रहेका छन् ।

हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२-०४७ प ७५०३ नम्बरको स्कुटरलाई जाँच गर्दा सुन फेला परेको थियो ।

बरामद सुनको मूल्य ११ करोड ४३ लाख ५७ हजार ८७८ रुपैयाँ ६५० रूपैयाँ बराबरको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सुन तस्करीको विशेष सूचना पाएपछि प्रहरी टोली खटिएको थियो । पक्राउ परेका दुवै जनाले जनकपुरबाट पथलैयासम्म बसमा र पथलैयाबाट स्कुटरमा यात्रा गरिरहेका थिए ।

उनीहरूले सुन काठमाडौंको गौशाला पुर्‍याउन लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका कुटी र बाडले यसअघि ८ असोजमा २ किलो सुन काठमाडौंमा पुर्‍याएको समेत खुलेको छ ।

प्रकाशित मिति: १९ आश्विन २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्