मैनालीलाई मदन पुरस्कार र यादवलाई जगदम्बाश्री पुरस्कार प्रदान


 


काठमाडौं, असोज १८ । मदन पुरस्कार गुठीले २०८० सालको मदन पुरस्कार र जगदम्बाश्री पुरस्कार प्रदान गरेको छ ।

गुठीद्वारा हिजो ललितपुरमा आयोजित समारोहमा गुठीका अध्यक्ष कुन्द दीक्षितले मुकाम रणमैदान पुस्तकका लागि पत्रकार एवम् लेखक मोहन मैनालीलाई मदन पुरस्कार र प्रा. डा. योगेन्द्रप्रसाद यादवलाई जगदम्बाश्री पुरस्कार प्रदान गर्नुभयो ।

गुठीको साधारणसभा बैठकले गरेको निर्णयअनुसार मदन पुरस्कार–२०८० बाट ‘मुकाम रणमैदान’ का लेखक मैनालीलाई तथा जगदम्बाश्री–२०८० बाट प्रा. डा. यादवलाई सम्मान गरिएको हो । पुरस्कारको राशि जनही चार लाख रुपैयाँ रहेको छ ।

गुठीका अध्यक्ष दीक्षितले नेपालका भाषाहरूको पहिचान, संरक्षण र अध्ययन–अनुसन्धानका क्षेत्रमा निरन्तर समर्पित भई गहकिलो योगदान गरेकोमा प्रा. डा. यादवलाई जगदम्बाश्री पुरस्कार प्रदान गरिएको जानकारी दिनुभयो ।

‘मुकाम रणमैदान’ का लागि मदन पुरस्कार प्राप्त गर्नुभएका मैनालीको यो पाँचौं पुस्तक हो । मैनालीले यसअघि ‘मान्ठा डराएको जुग’, ‘उपल्लो थलो’, ‘देखेको देश’ र ‘आकाशमुखी’ कृति प्रकाशन गरिसक्नुभएको छ ।

पुरस्कार ग्रहणपछि मदन पुरस्कार विजेता मैनालीले आफूले मुकाम रणमैदानमार्फत नेपाल–अङ्ग्रेज युद्धको बखान गरेको बताउनुभयो । जगदम्बाश्री पुरस्कारबाट सम्मानित प्रा. डा. यादवले नेपालका भाषाहरूको क्षेत्रमा अध्ययन–अनुसन्धानका लागि जगदम्बाश्रीबाट सम्मानित गरेकामा कृतज्ञता ज्ञापन गर्नुभयो ।

गुठीले मदन पुरस्कार–२०८० का लागि पाँच वटा पुस्तक छनोट गरेको थियो । भक्त स्याङ्तानको ‘डम्फुको आत्मालाप’, जीवन क्षेत्रीको ‘नुन–तेल’, भावेश भुमरी र प्रणिता चामलिङको ‘भावलिपि’, मोहन मैनालीको ‘मुकाम रणमैदान’ र रोशन थापा ‘नीरव’ को ‘सन्त्रासका साठी दिन’ रहेका थिए । मदन पुरस्कार २०८० छनोटका लागि तीन सय चार पुस्तक प्राप्त भएकामा पाँच कृतिलाई गुठीले अन्तिम छनोट गरेको थियो ।

मदन पुरस्कार २०१२ सालमा स्थापना भएको हो । यो पुरस्कार पहिलो पटक २०१३ सालमा गद्य विधामा सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’, सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालीको ‘जनरल भीमसेन थापा’ र तत्कालीन नेपाल तथा विज्ञान विधामा बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’ पुस्तकलाई दिइको थियो ।

गुठीले २०४५ सालमा रानी जगदम्बाको निधनपछि उहाँकै सम्झनामा जगदम्बा–श्री सम्मान स्थापना गरेको थियो । यो सम्मानबाट पहिलो पटक स्वर सम्राट नारायणगोपाल गुरुवाचार्य सम्मानित हुनुभएको थियो ।

प्रकाशित मिति: १८ आश्विन २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्