आज बडादशैँको दोस्रो दिन, ब्रह्मचारिणी देवीको आराधना


 


काठमाडौं, असोज १८ । नेपालीहरुको महान चाँड बडादशैँको दोस्रो दिन आज (शुक्रबार) नवदुर्गामध्येकी ब्रह्मचारिणी देवीको आराधना गरिँदैछ । नवरात्रमा प्रत्येक दिन भगवती दुर्गाका एक–एक स्वरूपको आराधना परम्परा छ ।

तपस्यामा लीन भइरहने भएकाले दुर्गाको दोस्रो रूपलाई ब्रह्मचारिणी भनिएको हो । शक्तिपीठहरूमा देवी ब्रहृमचारिणीको पूजाअर्चना गरिने शास्त्रीय मान्यता छ ।

हिन्दू धर्मशास्त्रमा ब्रहृमचारिणीलाई ब्रहृम विद्या तथा शक्तिकी देवीको रूपमा पूजा गर्ने प्रचलन छ । ब्रहृमचारिणीको आराधनाले ब्रहृमानुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रहृमचर्य जस्तो परमपदमा पुग्न सकिने पौराणिक मान्यता रही आएको छ ।

नवरात्रमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छौटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।

दशैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवीशक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ । घटस्थापनादेखि विजयादशमीसम्मको अवधिलाई नवरात्र पनि भनिन्छ । यस अवसरमा दुर्गा देवीको विशेष आराधना गरिन्छ । दुर्गा देवीका तीन रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आहृवान गरी पूजा गरिन्छ ।

प्रकाशित मिति: १८ आश्विन २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्