ईशा फाउण्डेसनविरुद्धको प्रहरी अनुसन्धान रोक्न आदेश


 


नयाँ दिल्ली । भारतको सर्वोच्च अदालतले बिहीबार ईशा फाउन्डेसनविरुद्ध प्रहरी अनुसन्धानको आदेशलाई रोकेको छ । ईशा फाउन्डेशनका संस्थापक सद्गुरु जग्गी वासुदेव हुन्।

सेवानिवृत्त प्रोफेसर एस कामराजले फाउन्डेसनविरुद्ध मद्रास उच्च अदालतमा निवेदन दिएका थिए । उनका छोरी लता र गीतालाई आश्रममा बन्धक बनाएको आरोप छ ।

मद्रास उच्च अदालतले ३० सेप्टेम्बरमा ईशा फाउन्डेसनसँग सम्बन्धित सबै आपराधिक मुद्दाको विवरण प्रहरीले पेस गर्नुपर्ने भनेको थियो। भोलिपल्ट अक्टोबर १ गते करिब १५० प्रहरी अनुसन्धान गर्न आश्रम पुगेका थिए ।

सद्गुरुले उच्च अदालतको आदेशलाई सर्वोच्च अदालतमा चुनौती दिएका थिए, जसमा सर्वोच्चले आज फैसला सुनाएको हो । मुद्दाको अर्को सुनुवाइ अक्टोबर १८ मा हुनेछ।

दुवै युवती सन् २००९ मा आश्रममा आएको उनले बताए । त्यतिबेला उनीहरूको उमेर २४ र २७ वर्ष थियो । उनीहरू त्यहाँ आफ्नै स्वेच्छाले बसेको सद्गुरुको भनाई छ। हिजो रातिदेखि आश्रममा उपस्थित प्रहरी अहिले छाडेको उनले बताए ।

निर्णय गर्नुअघि प्रधानन्यायाधीश चन्द्रचूडले आफ्नो चेम्बरमा दुई महिला भिक्षुसँग पनि छलफल गरेका थिए । ती महिलाले दुवै दिदीबहिनी आफ्नो स्वेच्छाले ईशा योग फाउन्डेसनमा रहेको बताइन् । बरु उनका बुवाले उनीहरूलाई विगत ८ वर्षदेखि दुर्व्यवहार गर्दै आएको उनीहरूको आरोप छ ।

प्रकाशित मिति: १७ आश्विन २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्