विदेश हुँदा महिलाको चरित्र हत्या गरेको आरोपमा विमानस्थलबाट पक्राउ


 


काठमाडौँ । विदेशमा हुँदा महिलाको चरित्र हत्या गरेको आरोपमा एक पुरुष नेपाल फर्किनेबित्तिकै पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नम्बर ५ स्थायी वतन भई मलेसियाबाट फर्किएका वर्ष २९ का खगेन्द्र यरी रहेका छन् ।

उनले सामाजिक सञ्जालमा एक महिलासँग साथी बनी कुराकानीका क्रममा म्यासेञ्जर मार्फत गोप्य तस्विर साटासाट गरेको र पछि सामाजिक सञ्जालमा फेक आईडी बनाई उक्त आईडी मार्फत पीडितका आफन्त तथा साथी भाइलाई पठाई चरित्रहत्या गरेको उजुरी प्रहरीमा परेको थियो ।

उनीविरुद्ध साइबर ब्युरोले २०७९ वैशाख २३ गते नै मुद्दा दर्ता गरेपनि फरार रहेकाले इन्टरपोलद्वारा रेड नोटिस जारी गरिएको थियो । सोहीअनुसार नेपाल फर्कने क्रममा बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरी काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको ब्युरोले जनाएको छ ।

प्रकाशित मिति: १७ आश्विन २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्