हवाई उडानमा चाप : एकैदिन ३५ हजारभन्दा बढीले गरे यात्रा


 


काठमाडौं । मनसुन सिजन सकिनै लाग्दा परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले धेरै सडक सञ्जाल अवरुद्ध भएको छ ।

केही दिन काठमाडौं आउने मुख्य सडकमार्ग नै अवरुद्ध हुँदा आवागमनमा समस्या भएको छ । सडक यातायात सहज नभएको र हवाई यातायात पनि सबैको पहुँचमा नभएकाले थप सास्ती व्यहोर्नुपरेको धेरैको गुनासो छ ।

काठमाडौंबाट भोजपुर जाने प्रतिक्षामा रहेका अनिल अधिकारीले सडकबाट जाने अवस्था नरहेको र हवाई टिकट पाउन नसकेको गुनासो गरे । बाढीपहिराले सडक अवरुद्ध भएपछि हवाई उडानमा चाप बढ्दा पछिल्ला दिनमा यात्रुको भीड छ ।

गन्तव्य जाने प्रतिक्षामा हजारौँ यात्रुको भीडले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल निकै भीडभाड हुने गरेको छ ।

विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार यही असोज १४ गते एकैदिन आन्तरिक र अन्तर्राष्ट्रिय उडान गरी ५५९ उडान भएका थिए । ती उडानमार्फत सोही दिन ३५ हजार ७०४ जनाले हवाईयात्रा गरेका छन् ।

असोज १५ गते दुवैतर्फ गरी ५११ उडान भएका छन् । उडान संख्या बढेपछि विमानस्थलमा एयर ट्राफिक जाम भइरहेको छ ।

प्रकाशित मिति: १७ आश्विन २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्