एनपीएल अक्सनमा १ सय ४२ खेलाडी सहभागी हुने


 


काठमाडौँ, असोज १७ । नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनमा १ सय ४२ खेलाडी सहभागी हुने भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार आइतबारदेखि हुने अक्सनमा कुल ४ सय २६ खेलाडीले आफ्नो नाम दर्ता गराएका छन् । त्यसबाट १४२ खेलाडी छनोट गरेर अक्सनका लागि चयन गरिएको एनपीएल तयारी समितिले जनाएको छ ।

नेपाली फ्रेन्चाइज क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता मंसिर १५ देखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुँदैछ । क्यानले असोज ५ देखि १२ सम्म खेलाडी दर्ताका लागि खुला गरेको थियो ।

अक्सनका लागि ग्रेड ‘ए’ मा २७, ग्रेड ‘बी’ ३८ र ग्रेड ‘सी’ ७७ खेलाडी रहेका छन् । प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहनेछ ।

क्यानले यसअघि नै ती टिमका प्रवर्धकको नाम सावर्जनिक गरिसकेको छ । सहभागी हुने टिममा सुदूरपश्चिम रोयल्स, काठमान्डु गुर्खाज, चितवन राइनोज, विराटनगर किंग्स, जनकपुर बोल्ट्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र कर्णाली याक्स छन् ।

यी सबै टिमले आफ्नो लोगो र मार्की खेलाडी सार्वजनिक गरिसकेका छन् ।

प्रकाशित मिति: १७ आश्विन २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्