बडादशैं सुरू, आज घटस्थापना


 


काठमाडौं, असोज १७ । आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीहरूको महान् पर्व बडादशैं आज (बिहीबारदेखि) सुरू भएको छ । बिहान घर–घरमा जौ, मकै, गहुँ आदिको जमरा राखी घटस्थापना गरेपछि यसपालिको दशैं शुरू हुनेछ ।

नेपाल पञ्चांग निर्णायक विकास समितिले घटस्थापनाका लागि बिहान ९ः१६ बजेको शुभसाइत तोकेको छ । शुभ समयमा जमरा राखेर घटस्थापना गर्दा राम्रो हुने समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म चल्ने नेपालीको महान पर्व दशैंलाई असत्यमाथि सत्यको विजयका रूपमा लिने गरिन्छ । घटस्थापनाको दिन पूजाकोठा, दशैंघर अथवा कोतमा दियो कलश र गणेश थापी नवदुर्गाको स्थापना गर्ने चलन छ ।

कतैकतै भने ब्रह्माको पनि स्थापना गरिन्छ । घटस्थापनाका दिन पूजा कोठामा घंैटो अथवा घडामा जलभरि माथिपटि आँप, चाप, वरपिपलको पात राख्ने परम्परा छ । यो घडा वरिपरि गाईको गोबर टाँसेर त्यहाँ जौ उमार्ने प्रचलन रहेको छ ।

कलशको स्थापना गरी नदी, खोला, बगर या आफूलाई पायक पर्ने ठाउँबाट ल्याइएको चोखो बालुवा या माटोमा जौ छरिन्छ । बिहानै उठेर नुहाइधुवाइ गरी चोखो भएर पूजाकोठामा बालुवा अथवा चोखो माटो राखी जौ र मकैको बीउ छर्ने गरिन्छ ।

त्यहीँनजिकै थालीमाथि सुनको प्रतिमा राखी नवदुर्गा थाप्दै १० दिनसम्म पूजा गर्ने गरिन्छ । कतै मकै र गहुँको प्रयोग भए पनि अधिकांश स्थानमा जौ छर्ने प्रचलन रहेको छ ।

यसरी उमारिएको जमरा विजयादशमीका दिन देवीको प्रसादका रूपमा लगाउने गरिन्छ। नवदुर्गा देवीको पूजा अर्चनापश्चात् दशमीका दिन त्यहाँबाट जमरा निकालिन्छ भने पूर्ण कलशको जलको अभिषेक पनि लिने चलन छ ।

समितिका अनुसार असोज २६ गते शनिवारका दिन विजया दशमीकादिन देवी विसर्जन गरी प्रसादस्वरूप टीका लगाउने गरिन्छ । यस वर्ष दशैंको टीकाको उत्तम साइत बिहान ११ः३६ बजे रहेको छ ।

प्रकाशित मिति: १७ आश्विन २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्