आज यी स्थानमा भारी वर्षाको सम्भावना


 


काठमाडौं, असोज १७ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । भारतको उत्तर–पूर्व आसाम र आसपासको क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव पनि नेपालको मनसुनमा रहेको छ ।

अहिले बिहान कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ ।

कोशी, बागमती प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, मधेस प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

साथै कोशी र बागमती प्रदेशका एक– दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी प्रदेशका तराई भू–भागका थोरै स्थानहरूमा हावा–हुरीसमेतको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति कोशी, मधेस, वागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

कोशी, मधेश, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका तराई भू–भागका थोरै स्थानहरूमा हावा–हुरीकोसमेत सम्भावना रहेको छ ।

प्रकाशित मिति: १७ आश्विन २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्