सहकारी ठगी : नगरप्रमुख नेपाली कारागार चलान


 


बागलुङ, असोज १६ । बचत रकम अपचलन गरेको आरोपमा बागलुङको ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपाली कारागार चलान भएका छन् ।

१६ महिनापछि पक्राउ परेका इमेज बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्षसमेत रहेको नेपालीलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत बागलुङले आदेश दिएको हो ।

नेपालीलाई केन्द्रीय अनुसन्धान व्यूरोले भारतमा पक्राउ गरी शनिबार नेपाल ल्याएर जिल्ला अदालत बागलुङमा सोमबार पेस गरिएको थियो ।

मङ्गलबार थुनछेक बहसपछि जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीको इजलाशले नेपालीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।

सहकारी ठगीमा अध्यक्ष नेपालीसहित सञ्चालकविरुद्ध कास्कीका पाँच सय २४ र बागलुङका एक हजार पाँच सय ४३ बचतकर्ताले गत वर्ष जेठमै उजुरी दिएका थिए ।

सहकारीका बचतकर्ताको रु दुई अर्ब बचत रकम हिनामिना गरी २०८० जेठ ५ मा बुर्तिबाङ बजारबाट उनी परिवारसहित फरार भएका थिए । उनीसँगै पक्राउ परेका ओमप्रसाद दर्जीलाई भने रु एक लाख ५० हजार धरौटीमा छोड्न आदेश दिएको छ ।

प्रकाशित मिति: १६ आश्विन २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्