नेपाल क्यानडासँग फेरि हार्यो


 


काठमाडौं, असोज १६ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा नेपाल घरेलु टोलीसँग क्यानडासंँग फेरि पराजित भएको छ ।

क्यानडाको किंग सिटीमा मंगलवार भएको खेलमा नेपाल क्यानडासँग ४ विकेटले पराजित बनेको हो । १ सय ४० रनको लक्ष्य क्यानडाले १९.३ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।

क्यानडाका लागि साद विन जाफरले १८ बलमा ४ चौका र १ छक्काको सहयोगमा नट आउट ३३ रन जोडे । कप्तान निकोलस किर्तनले १४ बलमा १ चौका र २ छक्काको सहयोगमा २६ रन बनाए ।

रविन्द्रपाल सिंहले २१ बलमा नट आउट २०, नवनित धालिवालाले १२ तथा दिलप्रित बाज्वाले २५ रन नजजोडे । नेपालका लागि ललित राजवंशी र सन्दीप लामिछानेले समान २ तथा सोमपाल कामीले १ विकेट लिए ।

त्यसअघि टस हारे ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३९ रनको मध्यम योगफल तयार गर्न सक्यो ।

राम्रो सुरुवात गरेको नेपालका ओपनर बाहेकका अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न नसक्दा मध्यम योगफलमा समेटियो ।

नेपालका लागि ओपनर अनिल शाहले ३० बलमा ४ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ४१ रन जोडे । पहिलो विकेटका लागि अर्का ओपनर आसिफ शेखसँग मिलेर शाहले ५५ बलमा ७० रन जोडे । आसिफले ३० बलमा ३ चौका र १ छक्काको सहयोगमा ३० रन बनाए ।

गुलशन झाले २३ रन जोडे । एक समय ९ ओभरमा कुनै विकेट नगुमाई ७० रन बनाएको नेपालले बाँकी ११ ओभरमा ६ विकेट गुमाएर ६९ रन मात्र जोड्न सक्यो ।

क्यानडाका लागि हर्ष ठाकरले २ तथा डेलिन हेलिगर, अखिल कुमार, प्रविन कुमार र साद विन जाफरले समान १ विकेट लिए ।

आइतवार भएको सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग १४ रनले पराजित भएको थियो । १ सय २४ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा १ सय ९ रन बनाउँदै अल आउट भएको थियो । दोस्रो खेलमा भने नेपालले ओमानमाथि जित हासिल गरेको थियो ।

प्रकाशित मिति: १६ आश्विन २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्