उद्धार, राहत र सडक सञ्चालनमा सरकारको प्राथमिकतामा छ : गृहमन्त्री लेखक


 


काठमाडौं । गृहमन्त्री रमेश लेखकले उद्धार, राहत र सडक सञ्चालनका सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन्।

विपद्पछिको प्रतिकार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेर काम थालिसकेको उनको भनाई छ ।

गृहमन्त्री लेखकले विपद्मा परेका नागरिकको उद्धार, बेपत्ताको खोजी, राहत र अवरुद्ध सडक खोल्ने कार्यमा केन्द्रित भएको बताए ।

घाइतेको निःशुल्क उपचार र पहिरोका कारण अवरुद्ध मुख्य राजमार्ग र सहायक राजमार्ग खोलेर आवागमन सहज बनाउनेतर्फ सरकार केन्द्रित भएको गृहमन्त्री लेखकले दाबी गरे ।

त्यस्तै, गृहमन्त्री लेखकले वर्षाका कारण दुर्घटना हुने भनी रात्रिबस रोक्न गरेको यात्रासम्बन्धी निर्देशिका जारी गरेको अवस्थामा कसरी यातायात सञ्चालन भए भनेर आन्तरिक छानबिन भइरहेको बताए।

उनले पूर्वसूचना जारी गर्दा पनि किन रात्रिबस काठमाडौं प्रवेश गर्न रोकिएन भनेर आन्तरिक छानबिन भइरहेको बताए ।

गृहमन्त्री लेखकले आगामी दिनमा प्राकृतिक विपत्ति आएमा कसरी उद्धार, राहतलगायतका काम गर्ने भन्नेबारे सरकारले तयारी गरेको बताए।

बैठकमा गृहमन्त्री लेखकले बाढीपहिरामा परी देशभर २१८ जनाको मृत्यु, २७ बेपत्ता र १४३ जना घाइते भएका जानकारी दिए ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र स्वयम्सेवकले विपद्मा फसेका चार हजार २२ जनाको उद्धार गरेका उनले बताए ।

प्रकाशित मिति: १५ आश्विन २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्