कैलालीमा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु


 


धनगढी, असोज १५ । कैलालीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत गौरीगंगा नगरपालिका–१ को गोप्कामा पश्चिमबाट पूर्वतर्फ गइरहेको से६ प६२७९ र विपरीत दिशाबाट आइरहेको बा९५प९२५२ नम्बरको मोटरसाइकल ठोक्किँदा दुवैका चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा से६प ६२७९ नम्बरको मोटरसाइकलका चालक जानकी गाउँपालिका–८ बस्ने २० वर्षीय निर्मल चौधरी र बा९५प ९२५२ नम्बरको मोटरसाईकलका चालक कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का २६ वर्षीय चिरञ्जीवी मल्लको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई राति नै धनगढीको नवजीवन अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

उनीहरूको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । यस्तै, बा९५प ९२५२ नम्बरको मोटरसाइकल पछाडि सवार कञ्चनरको शुक्लाफाँटा नगरपालिका– ७ का २२ वर्षीया दिपक बोहरा घाइते भएका छन् । उनको नवजीवन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १५ आश्विन २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्