लेखाका ५ सयभन्दा बढी कर्मचारीको सरूवा (सूचीसहित)


 


काठमाडौं । लेखा तर्फका ८० जना अधिकृत, कोष नियन्त्रक र आन्तरिक लेखा परीक्षकको सरूवा भएको छ । महालेखा नियन्त्रक कार्यालयले ४१३ जना लेखापाल र १३ जना सहलेखापालको पनि सरुवा गरेको छ ।

यसअनुसार एकैपटक लेखमामा ५ सय भन्दा बढी कर्मचारीको एकसाथ सरुवा भएको छ । यसअघि लेखाका २६ उपसचिवको पनि सरुवा भइसकेको थियो ।

अब विभिन्न मन्त्रालय, विभाग, आयोग तथा कार्यालयहरुमा नयाँ अधिकृत, लेखापाल र सहलेखापालहरु खटिएका छन् । लेखा समूहका कर्मचारीको सरुवा व्यवस्थापन महालेखाले नै गर्ने गरेको छ ।

निजामती सेवा नियमावलीअनुसार कर्मचारीहरुलाई सामान्य प्रशासन मन्त्रालयले प्रत्येक वर्षको भदौ मसान्तभित्रमा सरुवा गरिसक्नुपर्छ । मन्त्रालय वा मन्त्रालय स्तरको केन्द्रीय निकाय वा विभागले प्रत्येक वर्षको असोज १ गतेदेखि असोज १५ गतेभित्रमा सरुवा गर्नुपर्ने नियम छ ।

त्यसकै आधारमा क्षेत्रीय (प्रदेश) स्तरका निकायहरुले प्रत्येक वर्षको असोज १६ गतेदेखि असोज मसान्तभित्र सरुवाको निर्णय गर्नुपर्ने हुन्छ । तालिकाबाहेकको समयमा सरुवा गर्नु परेमा सामान्य प्रशासन मन्त्रालयको सहमति लिनुपर्ने व्यवस्था छ ।

देशभरका ८१ वटा कोष तथा लेखा नियन्त्रक कार्यालयसहित निवृत्तिभरण व्यवस्थापन कार्यालय र कुमारीचोक तथा केन्द्रीय तहसील कार्यालयहरुबाट कर्मचारीहरु सरुवा गर्ने गरिन्छ । लेखा अन्तरगत हाल करिब ४ हजार कर्मचारी कार्यरत छन् ।

बितेको आर्थिक वर्षको हिसाब भिडानको काम समयमै नसकिंदा वर्षैसाल लेखाका कर्मचारीको सरुवामा ढिलाइ हुने गरेको थियो । तर, यसपटक महालेखा नियन्त्रक कार्यालयले कर्मचारीहरुको नियमित सरुवा समयमै गरेको छ ।

हेर्नुहोस् सरूवा सूची :

प्रकाशित मिति: १४ आश्विन २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्