आज साँझदेखि काठमाडौंबाट यात्रु बस चल्न दिने तयारी


 


काठमाडौं । आज (सोमबार)देखि नै काठमाडौंबाट विभिन्न जिल्लाका लागि छुट्ने सार्वजनिक सवारीहरु सञ्चालन हुने भएको छ । बसहरुले टिकट बेच्न थालेपछि नयाँ बसपार्कमा अहिले काठमाडौंबाट विभिन्न जिल्लामा जाने यात्रुको भीड छ ।

सार्वजनिक सवारी नचल्दा राजधानीमा दशैंको मुखमा सयौं यात्रु अलपत्र छन् । नयाँ बसपार्क व्यवस्थापन गरिरहेको ल्होत्से बहुउद्देश्यीय प्रालिका व्यवस्थापक पंकज मल्लका अनुसार अरनिको राजमार्ग भएर जाने दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रे लगायतकाबाहेक अन्य सबैजसो जिल्लाका लागि छुट्ने सार्वजनिक बसहरु पठाउने तयारी हुँदैछ ।

‘करिब ४ बजेपछि बसहरु छुट्न थाल्ने छन्, यातायात व्यवसायीहरुले आफ्नो र यात्रुको अनुकूलताका आधारमा तयारी गरिरहेका छन्,’ मल्लले भने, ‘पानी परेन र सडकमार्गको अवरोधहरु लगभग सबै क्लियर भइसकेपछि सवारी छुट्न थालिहाल्छन् ।’

त्रिभुवन राजपथ, पृथ्वीरामार्ग, नारायणगढ मुग्लिन र पूर्वपश्चिम राजमार्ग भएर विभिन्न जिल्लामा जाने यात्रुबाहक सवारीहरु छुट्ने छन् ।

शुक्रबार साँझदेखि लगातारको वर्षा र राजमार्गहरुमा बाढी र पहिरोका कारण भइरहेको अवरोधका कारण काठमाडौंबाट लामो दूरीका सवारी छुट्न पाएका थिएनन् । काठमाडौं आउँदै गरेका यात्रु बाटोमै अलपत्र परेको थिए भने नागढुंगा नाका भएर आउ–जाउ अवरुद्ध थियो ।

अवरोधहरु हटाउने क्रम सकिन लागेसँगै काठमाडौंबाट छुट्ने सार्वजनिक सवारीहरुलाई पनि यात्रु बोकेर जान अनुमति दिन लागिएको हो । महानगरीय ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रबिन कार्की धादिङको झ्याप्ले खोला तथा सिम्लेमा सडकमा अहिले पनि आंशिक अवरोध रहेको र त्यो हट्नासाथ बसरु छुट्न दिइने बताउँछन् ।

प्रकाशित मिति: १४ आश्विन २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्