अनेरास्ववियु (क्रान्तिकारी)मा उमेर हदका लागि मतदान हुने
काठमाडौं, असोज १४ । नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी)को नेतृत्वका लागि उमेर हद लागू गर्ने विषयमा मतदान हुने भएको छ ।
बिहीबारदेखि अनेरास्ववियु (क्रान्तिकारी) २३औँ सम्मेलन चलिरहेको छ । आइतबार बसेको माओवादी केन्द्रको बैठकले विद्यार्थी सङ्गठनमा उमेर हद लगाउने कि नलगाउने जिम्मेवारी हललाई नै दिने निर्णय गरेको हो ।
अधिकांश नयाँ विद्यार्थी नेताहरू सम्मेलनमा सहभागी भएकाले आज हलले सङ्गठनमा उमेर हदबारे निर्णय लिनेछ । अनेरास्ववियु क्रान्तिकारीमा २८, ३० वा ३२ वर्ष उमेर हद लगाउने विषयमा छलफल चलिरहेको छ ।
सम्मेलनले अनेरास्ववियु (क्रान्तिकारी)मा उमेर हद लगाउने निर्णय गरेकामा अध्यक्षका कयौँ आकाङ्क्षी नेताहरू विद्यार्थी राजनीतिबाट बिदा हुने छन् ।
सम्मेलनमा इन्द्र भुसाल, जिपी मैनाली, नरेश रेग्मी, पवन कार्की, मदन भुल, मदन भट्टराई, नारायण खनाल, क्षितिज सापकोटा, केशव रावल, तुकमान महरा, मिलन एमसी, लक्ष्मी जोशी, प्रवीण अधिकारी, सूर्यनारायण साह, दीपेश पुनसहितका दर्जनौँ नेता अध्यक्षका आकांक्षी छन् ।
महाधिवेशनमा २ हजार ३२३ प्रतिनिधि सहभागी रहेका छन् । अखिल (क्रान्तिकारी)ले प्रत्यक्ष निर्वाचन प्रक्रियाद्वारा नयाँ नेतृत्व चयन गर्ने तयारी गरेको छ ।
प्रकाशित मिति: १४ आश्विन २०८१, सोमबार